"कुलिङ्ग"को मुखमा मुख्यसचिव र सभामुख भेट

"कुलिङ्ग"को मुखमा मुख्यसचिव र सभामुख भेट

सभामुख देवराज घिमिरेसँग मुख्यसचिव एकनारायण अर्यालले भेट गरेका छन् ।भेटघाटका लागि मुख्यसचिव अर्याल हिजो दिउँसो २ बजे सिंहदरबारस्थित संसद सचिवालयमा पुगेका थिए । 

करिब आधा घण्टा कुराकानी गरी मुख्यसचिव त्यहाँबाट साढे २ बजेको हाराहारीमा निस्केको संसद सचिवालय स्रोतले बताएको छ । सभामुख र मुख्यसचिवबीच के विषयमा कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन । 

यता, राष्ट्रिय सभाको विधायन समितिमा पुगेर निजामती सेवासम्बन्धी विधेयक अड्किएको छ । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने कि नराख्ने भन्ने विवादका कारण राष्ट्रिय सभामा पनि छलफल सुस्त छ । प्रतिनिधिसभाले गत असार १५ गते पारित गरेर पठाएको यो विधेयक आगामी १६ गतेभित्र राष्ट्रिय सभाले पारित वा सुझावसहित फिर्ता पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

विगतमा निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ नराख्न मुख्यसचिव अर्याल,संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलगायत अधिकांश सचिवले गरेको अनुरोधलाई विशेषगरी काँग्रेससहित माओवादी र विपक्षी दलका नेता तथा सांसदले बेवास्ता गरेका थिए । प्रतिनिधिसभाबाट पारित विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिबाट पारितभन्दा फरक ढंगको व्यवस्था गरिएको पाइएपछि गठित संसदीय समितिको प्रतिवेदनका कारण समिति सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् ।

टिप्पणीहरू