ईलाका प्रशासन कार्यालयसहित डोल्पोबुद्धमा सशस्त्र प्रहरी खटाइँदै
लामो प्रयास र निकै संघर्षपछि डोल्पामा ईलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो भन्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल खटाउने निर्णय पनि भएको छ ।
डोल्पोबुद्धका स्थानीयले लामो समयदेखि ईलाका प्रशासन कार्यालय र बीओपीको माग गर्दै आएका थिए। तर, सुनुवाइ हुन सकेको थिएन। नेकपा माओवादी केन्द्रले चलाएको तीन महिनाको अभियानको क्रममा स्थानीय नेतृ भिमा केसी बञ्जारा एक महिना डोल्पोबुद्ध बसेकी थिइन् । त्यहाँको समस्या बुझेर उनले पालिकाको अध्यक्ष कार्मा छोइवेल गुरुङ्ग र उपाध्यक्ष पेम्बा धोर्चे गुरुङ्गलाई जानकारी गराइन् । कार्यपालिका बैठकमा पनि सो विषयमा छलफल भयो।
डोल्पोबुद्धका स्थानीयको माग लिएर उनी काठमाडौंसमेत आइन् । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै निवेदन दिइन् । तर, केही समयमै उनी हटेर रवि लामिछाने गृहमन्त्री बने । लामिछानेलाई पनि सो विषयमा जानकारी गराइयो तर त्यसलाई गम्भीरतासाथ नलिएको भीमाले बताइन् ।

गत वर्ष काँग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेपछि उनी फेरि भेट्न पुगिन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री लेखकलाई फोन गरेर डोल्पोबुद्धबासीको समस्या समाधानका लागि पहल गर्नुभएको थियो । उनले गृहसचिव गोकर्णमणि दवाडीलाई भेटेर सबै कुरा राखेकी थिइन् । दवाडी आफैं डोल्पा पुगेर त्यहाँको समस्याबारे अध्ययन गरेका थिए ।
त्यसपछि गृहका दुई कर्मचारी गणेश झा र गणेश गैरेलाई आवश्यक प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिइयो । काम सकेपछि प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइयो । भिमाले चार दिनअगाडि सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलाई भेटेपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
भिमा भन्छिन्, ‘यो कामका लागि धेरै संघर्ष गर्नुपर्यो । गृहमन्त्री फेरिएपछि प्रत्यक्ष भेटेर डोल्पोबुद्धबासीको समस्या सुनाए । काम भएकोमा निकै खुशी लागेको छ। यसले डोल्पोबुद्धका स्थानीयलाई निकै राहत दिनेछ ।’

टिप्पणीहरू