माओवादी जागेपछि राजावादी डराएको दाबी

माओवादी जागेपछि राजावादी डराएको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको शक्ति देखेर प्रतिक्रियावादीहरू अत्तालिएको दावी गर्नुभएको छ । 

माओवादी कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल सम्बोधन गर्दै उहाँले आफूहरुको लोकप्रियता बढ्दै गएपछि राजावादी आन्दोलन तुहिएको बताउनुभयो । समाजवादी मोर्चाको प्रदर्शनबाट राजसंस्था फर्काउन हिँडेकाहरू डराएको प्रचण्डको भनाइ छ । 

‘प्रतिक्रियावादी शक्तिहरू अलिअलि चलमलाउन थालेका थिए, तपाईहरूले पनि देख्नुभएकै थियो’, उहाँले भन्नुभयो, ‘तर हाम्रो मोर्चाले जुन प्रदर्शन र विरोध गर्यो, त्यसले उनीहरूलाई कहिं न कहिं सकिन्न रहेछ भन्ने महशुस भएको छ, र उनीहरू डराएर आफैँ अहिले कताकता पुगेका छन् ।’

अध्यक्ष प्रचण्डले पार्टीमा गुटवन्दी स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभएको छ । उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय आफ्नो गुट विस्तार गरेको भनिएका बेला उहाँले यसबारे जानकार रहेकाे बताउनुभयो । 

भन्नुभयो, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ, तर पनि पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको छ, त्यस्तो कार्य स्वीकार्य हुँदैन ।’

सम्बोधनका क्रममा प्रचण्डले विभिन्न जनवर्गीय संगठनले चलाएको उत्पादन अभियानले राम्रो गति लिने विश्वास व्यक्त गर्दै संगठन बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

‘पार्टी विस्तारै लयमा आउँदैछ, अब घर-घरमा पुग्ने, टोल-टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनुतिर लाग्नुस्’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू