‘म’ मात्रै मुखमा किन आउँछ महोदय ?

‘म’ मात्रै मुखमा किन आउँछ महोदय ?

एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकाल पार्टीको नेतृत्व लिने तयारीमा हुनुहुन्छ । त्यसनिम्ति  विधान अधिवेशनबाटै अनुकूल विधि बनाउने तयारी छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बन्देज लगाउनेदेखि ओलीको रोजाइका पात्रलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिनेसम्मका काम पनि भैरहेका छन् । 

एमालेमा अहिले ओलीलाई चुनौती दिने विद्याबाहेक अर्को नेता देखिएको छैन । तर, विद्यालाई अध्यक्ष उठ्न नपाउने गरी सदस्यता खारेज गरिएको छ । तैपनि ओली अझै ढुक्क नरहेको उहाँका सार्वजनिक अभिव्यक्ति र अपनाएका रणनीतिबाट प्रष्ट हुन्छ । 

साउन ८ गते सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकयता सरकारी निवास बालुवाटारमा लगातार गुटको बैठक राखेर विद्याको पक्षमा नलाग्न नेता-कार्यकर्तालाई निर्देशन दिने काम भैरहेको छ । यो सिलसिला जारी रहँदा हिजो साँझ काठमाडौँबाट विधान  महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुलाई बालुवाटार बोलाएर त्यसैगरी 'क्लास' लिइएको छ ।  

एमालेमा पहिलेदेखि नै विद्या भण्डारीको सांगठनिक पकड भएको जिल्ला हो काठमाडौँ । राष्ट्रपतिका रुपमा उहाँ सात वर्ष शीतल निवासमा रहँदा पनि त्यो पकड कायम रह्यो । अहिले सदस्यता खोसेर अप्ठेरो पारिएका बेला समेत विद्याका मान्छेहरू दायाँ बायाँ नगरी एकढिक्का भएर बसेका छन् । 

यो समीकरण थाहा भएरै अध्यक्ष ओलीले काठमाडौँका नेतालाई बालुवाटार बोलाएको बुझ्न सकिन्छ । तर, छलफलका क्रममा विद्यामाथि चर्को आक्रोश पोख्नुभएका उहाँ अत्यन्त अत्तालिएको भावमा प्रकट भएको बताइन्छ । 

'मलाई नै चुनौती दिएपछि मैले छोड्छु ? मैले यत्रो दु:ख गरेर बनाएको पार्टी हो । कस्तो अवस्थाबाट जोगाएर यहाँसम्म ल्याएको । विद्यालाई के थाहा छ ? अनि उल्टो मैविरुद्ध लाग्ने ?'

शुरुमै उहाँले आफूलाई चुनौती दिएकाले भण्डारीलाई अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभयो । ११ औँ महाधिवेशनमै अध्यक्ष लड्ने उद्घोष गर्दै हिंडेकाले सदस्यतामा रोक लगाउनुपरेको प्रष्ट्याउँदै आक्रोश जनाउनुभयो- 'मलाई अलोकप्रिय भइस्,हट् भन्ने ?'  

आफूसंग प्रतिष्पर्धा गरेर विद्याले जित्ने आधार नरहेको दाबी गर्दै ओलीले अध्यक्ष हारेपछि भीम रावलले जस्तै असन्तुष्टि पोख्दै हिँड्ने अवस्था आउन नदिनका लागि सदस्यता नवीकरण नगरेको अनौठो तर्क पनि गर्नुभएको थियो ।  आफ्नो व्यक्तिगत प्रभावले पार्टीको लोकप्रियता बढेको भन्ने गर्नुभएका उहाँले आमचुनावको उदाहरण दिँदै भन्नुभयो- 'झापामा लिङ्देनलाई मैले चुनाव जिताएको हो,अब कसरी जित्दोरैछ हेरौंला ।'  

तर,राप्रपाको भोटले झापा-५ मा आफू विजयी भएको र देशको प्रधानमन्त्रीसम्म हुन सकेको यथार्थ चैं उहाँले खुलाउनुभएन । विद्यालाई गाली गर्ने क्रममा ओली बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पनि खनिनुभयो । विद्यातिर लागेका ईश्वरलाई अभागी मान्छेको संज्ञा दिंदै भनियो- 'खाने बेला अन्त लाग्ने अभागी हो ।' 

अध्यक्ष ओलीले एमालेमा आफूलाई एक्लो वीरको रुपमा प्रस्तुत गर्दै निकै अप्ठेरो अवस्थाबाट पार्टीलाई जोगाएर आजको दिनसम्म ल्याइपुर्याएको बताउनुभयो । अदालत र निर्वाचन आयोगलाई प्रयोग गरेर एमाले र सूर्य चिन्ह हात पारेको खुलेआम भन्दै आउनुभएका  उहाँले नेकपाकालको प्रसंग उल्लेख नगरी प्राप्त उपलब्धिको एक्लो जश आफूले लिनुभएको सहभागी एक नेताले सुनाए । 

विद्याको पक्षमा नलाग्न चेतावनी दिँदै सोध्नुभयो- 'किन सिंगार्न पर्यो विद्या भण्डारीलाई ?' पार्टी बलियो बनाउन आफू लागिरहेका बेला उल्टै असहयोग गरेको गुनासो उहाँको रह्यो । 

'हामी अन्तरसंवादमा रहेका बेला,कसरी जाने भन्नेमा छलफल चलिरहेका बेला एकाएक म अध्यक्ष हुन्छु, तैंले छोड् भन्ने ?', आक्रोशित हुँदै भन्नुभयो, 'चुनाव लड्छु भन्ने ? मैले यो पार्टीमा अहिले चुनाव नगरौँ, चुनाव भयो भने बिग्रह आउँछ भनेको होइन ?'

अध्यक्ष ओलीले अहिले पार्टीमा चलिरहेको बहस बिचारको लडाई नभई स्वार्थको द्वन्द्व हो पनि भन्नुभयो । यसअघि सचिवालयको एउटा बैठकमा विद्यालाई विदेशी शक्तिले उचालेको आशंका गर्नुभएका उहाँले हिजो पनि भूराजनीतिक टसलको प्रसंग छुस्स उठाउनुभएको बताइन्छ । जबज भनेको कुनै एक परिवारको पेवा हो ? भन्दै ओलीले चर्को आक्रोश जनाउनुभयो । 

त्यसक्रममा संगठन विभाग प्रमुख तथा बागमती प्रदेशका पूर्वइञ्चार्ज काशीनाथ अधिकारीको पनि कुरा निस्कियो । आफ्नोसमेत जोडबलले विद्याको सदस्यता नवीकरण गराएका काशिनाथले स्थायी समिति बैठकमा 'मैले सदस्यता दिएको हुँ त्यसका लागि आत्मालोचना गर्छु' भनेका थिए । महासचिव शंकर पोखरेल र स्वयं अध्यक्ष ओलीले पनि यसअघि भण्डारीको सदस्यता नवीकरण भएको स्वीकार गरिसकेको कुरा हो । 

बालुवाटारको छलफलमा दिपक निरौलाले यसबारे कुरा उठाउँदा ओलीले प्रसंग बदल्दै भन्नुभयो- 'मलाई नै चुनौती दिएपछि मैले छोड्छु ? मैले यत्रो दु:ख गरेर बनाएको पार्टी हो । कस्तो अवस्थाबाट जोगाएर यहाँसम्म ल्याएको । विद्यालाई के थाहा छ ? अनि उल्टो मैविरुद्ध लाग्ने ?'

विधान अधिवेशनका प्रतिनिधिलाई बालुवाटारमा प्रशिक्षण भन्दै एमाले काठमाडौँका अध्यक्ष निरौलाले ४८ बुँदा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

टिप्पणीहरू