विराटनगरमा धोबीघाट प्रकरणको स्मरण
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीभित्र अझ ठूला र डरलाग्दा अन्तरविरोध आउन सक्ने भन्दै कार्यकर्तालाई त्यसको सामना गर्न तयार रहन निर्देशन दिनुभयो।
विराटनगरस्थित स्वागतम् होटल मा बसेको कोशी प्रदेशस्तरीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजमा वर्गसंघर्ष रहेसम्म पार्टीभित्र अन्तरविरोध आउनु स्वाभाविक हुने बताउनुभयो।
नेता जनार्दन शर्मा (प्रभाकर) सँग देखिएको विवादबारे कार्यकर्ताले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले चीन, भियतनाम र रुसी क्रान्तिको सन्दर्भ दिनुहुँदै समाजवादी क्रान्ति नजिकिँदै जाँदा अन्तर्विरोध र अन्तरसंघर्ष अझ भयानक हुने स्मरण गराउनु भयो।
उहाँले माओले आफ्नो जीवनमा दस पटक ठूला अन्तरसंघर्ष भोग्नुभएको उल्लेख गर्दै, अन्तरसंघर्षबाट भाग्ने विकल्प कसैसँग नभएको प्रष्ट पार्नुभयो।
“जहिले पनि केही राम्रो हुँदै गर्दा विवाद आउँछ, तर अझ डरलाग्दा चुनौतीहरू अझै आउनेछन्,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेतृत्वले बुद्धि पु¥याउनुपर्छ, तरिका मिलाउनुपर्छ, तर अन्तरविरोध त यथार्थका आधारमा पैदा हुन्छ।”
पहिले स्पष्टीकरण सोधिन्छ, उचित जवाफ आएन भने आलोचना वा चेतावनी दिइन्छ, अझै अनुशासन नमान्यो भने निलम्बनसम्म हुन सक्छ
प्रचण्डले माक्र्स, एंगेल्स र लेनिनकै नेतृत्वमा बनेका संगठनहरू समेत विघटनमा पुगेको उदाहरण दिनुहुँदै, त्यसलाई व्यक्तिगत असफलता नभई आन्दोलनको स्वाभाविक प्रक्रिया मान्नुपर्ने धारणा राख्नुभयो।
जनयुद्धकालीन अन्तरसंघर्ष, कारबाही–प्रतिकारबाही र धोबिघाट प्रकरण स्मरण गर्दै उहाँले आफूलाई अध्यक्षबाट हटाउने षड्यन्त्रसम्म भए पनि अन्ततः पार्टीलाई एकताबद्ध गर्न बाध्यताले अघि बढाउनुपरेको उल्लेख गर्नुभयो। बाबुराम भट्टराई, मातृका यादव, गंगा श्रेष्ठ र किरणसहितका नेताहरू विभाजन गरेर गएका भए पनि अहिले पुनः एकताको पक्षमा फर्किँदै आउनु भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।
कोशी प्रदेशको नामकरणमा त्रुटि भएको स्वीकार गर्दै उहाँले दुई-तिहाई बहुमतको निर्णयलाई संविधानतः मान्न बाध्य रहेको बताउनुभयो। तर आफ्नो पार्टीले किरात, लिम्बुवान, कोचजस्ता नाममा जोड दिएको उल्लेख गर्दै आगामी निर्वाचनपछि फेरि नाम परिवर्तनको पहल गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले वामपन्थी ध्रुवीकरणलाई आवश्यक ठहर गर्दै, एमालेभित्र ठूलो ‘पहिरो’ जाने स्थिति बन्न सक्ने चेतावनी दिनुभयो। समाजवादी मोर्चालाई मात्रै होइन, मोर्चाबाहेकका तीन–चार वामपन्थी पार्टीलाई समेत एकताबद्ध गर्ने पहल भइरहेको जानकारी दिनुभयो।
कांग्रेस–एमाले गठबन्धनलाई कमजोर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो। रास्वपाले केही सकारात्मक हस्तक्षेप गरे पनि मिडियामुखी शैलीका कारण नकारात्मक सन्देश गएको उहाँले उल्लेख गर्नुभयो।
अन्त्यमा, सामाजिक सञ्जालमा पार्टीविपरीत जथाभावी लेख्ने कार्यकर्तामाथि ‘क्रमशः कारबाही’ गरिने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो, “पहिले स्पष्टीकरण सोधिन्छ, उचित जवाफ आएन भने आलोचना वा चेतावनी दिइन्छ, अझै अनुशासन नमान्यो भने निलम्बनसम्म हुन सक्छ।”
टिप्पणीहरू