नाउपाको बैठक यलो प्यागोडामा बस्ने
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई अध्यक्षको वैधानिकता दिएपछि पहिलोपल्ट बैठक आह्वान भएको हो ।
रञ्जिताले एक सूचना जारी गर्दै आगामी आईतबार र सोमबार (भदौ १५ र १६) गते बैठक बस्न लागेको जानकारी दिएकी छन् । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा भए पनि बैठक भने कान्तिपथस्थित होटल यलो प्यागोडामा बस्ने जनाइएको छ ।
बैठकको लागि पाँच वटा एजेण्डासमेत तय भएको अध्यक्षले बताइन् । जसमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक र विविध छन् ।
बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्यसहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
सरंक्षक रेशम चौधरी पक्षका केन्द्रीय सदस्यहरु भने बैठकमा नजाने अनुमान छ । पति-पत्नीसमेत रहेका रेशम र रञ्जिताबीच लामो समयदेखि आन्तरिक कलह चलिरहँदा पछिल्लो समय ससुरासमेत रहेका लालवी चौधरी पनि मिसिएको देखिन्छ ।
रेशमले हालै बाबु लालवीरलाई पार्टी अध्यक्ष बनाए पनि निर्वाचन आयोगले त्यसलाई अवैधानिक ठहर गर्दै रञ्जितालाई अध्यक्षमा कायम राख्ने निर्णय गरेको थियो । तर, रेशम पक्षका नेताहरु भने अझै पनि रञ्जितालाई अध्यक्ष मान्न तयार देखिदैनन् ।
टिप्पणीहरू