सरकारका प्रवक्ता पूर्ण समानुपातिकको पक्षमा
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजनीतिक दलहरू पूर्णसमानुपातिक निर्वाचन प्रणाली पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ । प्रमुख पार्टीहरूको मनोवृत्ति पूर्ण समानुपातिकसम्म पुगि नसकेको उहाँले बताउनुभयो।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङको यस्तो धारणा आएको हो । मुलुकलाई पूर्ण समानुपाति निर्वाचन प्रणालीमा लैजानसके मात्र उपेक्षित समुदायलाई समेत राज्य संयन्त्रसँग जोड्न सकिने उहाँको भनाइ छ ।
'पूर्ण समानुपातिक निर्वाचन प्रणलीको वकालत दलहरुले किन गर्दैनन् भन्दाखेरी दलहरुको मनस्थिति त्यहाँ पुगेको छैन', मन्त्री गुरुङ भन्नुहुन्छ, 'पूर्ण समानुपातिक प्रणालीमा गयो भने सबैभन्दा सस्तो प्रणाली हुन्छ नि त्यो । व्यक्तिले गर्ने खर्च त केही पनि हुदैन त्यहाँ ? दलहरुको बीचमा प्रतिष्पर्धा पनि धेरै कम हुन्छ ।'
संविधानले आदिवासी समुदायलाई दिएको अधिकार कार्यान्वयनका लागि जनमत सिर्जना गर्न आवश्यक रहेको मन्त्रीले उल्लेख गर्नुभयो । पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना बदलिएको उल्लेख गर्दै त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।
आदिवासी जनजाति लगायत पिछडिएका र बञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएकै कारण मुलुकमा संघीयता ल्याइएको जिकिर गर्नुभयो ।
नेपालका प्रमुख पार्टीहरुमा नेकपा माओवादी केन्द्र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ ।
टिप्पणीहरू