चीन पुग्नुअघि भारतीय प्रधानमन्त्री जापान भ्रमणमा

चीन पुग्नुअघि भारतीय प्रधानमन्त्री जापान भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान मिलेर एशियाली शताब्दीलाई स्थिरता, विकास र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । दुई दिने जापान भ्रमणको क्रममा बिहान टोकियो पुगेका भारतीय प्रधानमन्त्रीले त्यहाँ आयोजित व्यवसायिक फोरमलाई सम्बोधन गर्दै जापानी प्रविधि र भारतको क्षमता मिसाएर उत्तम साझेदारी निर्माण गर्न सकिने योजना सुनाएका हुन् ।

मोदीले भारतलाई आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्दै भने, ‘भारतमा पुँजी केवल बढ्नको लागि मात्र बढ्दैन, यो कैयाँै गुणा बढ्छ । भारत राजनीतिक र आर्थिक रुपमा स्थिर छ, नीति निर्णयमा पारदर्शिता छ।’

भारत छिट्टै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी गर्दै मोदीले कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, बायोटेक र अन्तरिक्षजस्ता क्षेत्रमा भारतले साहसी कदम चालिसकेको उदाहरण दिए । ‘जापानको प्रविधि र भारतको प्रतिभा मिलेर यो शताब्दीको प्रविधि क्रान्ति नेतृत्व गर्न सकिन्छ,’ उनको योजना सुनाए । 

मोदीका अनुसार भारत–जापानले अटो क्षेत्रमा देखाएको साझेदारीलाई आगामी दिनमा रोबोटिक्स, सेमिकन्डक्टर, जलयान निर्माणदेखि परमाणु ऊर्जासम्म फैलाउन सकिन्छ । भारतको विकास यात्रामा जापानले मेट्रोदेखि म्यानुफ्याक्चरिङ, स्टार्टअपदेखि सेमिकन्डक्टरसम्म विश्वासिलो साझेदार बनाएको मोदीको निश्कर्ष छ । 

मोदी भोलि साँझ जापानबाट चीनको थिएन्चिन जाने कार्यक्रम छ । राजधानी बेइजिङबाट पूर्व रहेको समुन्द्र नजिकैको थिएन्चिन शहरमा आइतबार र सोमबार हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्रीलगायत विश्वका दुई दर्जन मुलुकका कार्यकारी प्रमुख र विश्व संगठनका प्रमुखहरु सहभागी हुँदै छन् ।

टिप्पणीहरू