‘एमालेका कार्यकर्ता गहभरी आँसु बोकेर हिँडेका छन्’

‘एमालेका कार्यकर्ता गहभरी आँसु बोकेर हिँडेका छन्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।

आज काठमाडौंले आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०७४ सालमा कम्युनिष्ट पार्टीले पाएको ठूलो अवसर ओलीकै कारण गुमेको दाबी गर्नुभयो । सहयोगीलाई सिध्याउने बदलाभाव प्रवृतिले यस्तो स्थिति उत्पन्न भएको नेपालको भनाइ छ । 

‘२०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाई बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरु के हुन्थ्यो ? संविधान संशोधन गर्नसक्थ्यो, जस्तोसुकै कानून बनाउन सक्थ्यो । तर त्यो भएन’ , उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ ।’ 

एमालेमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई रोक्न भैरहेका प्रयासलाई नेपालले त्यहि प्रवृतिको निरन्तरताको रुपमा अर्थ्याउनुभएको छ । फरक मत राख्नेहरू गहभरी आँसु बोकेर हिँडिरहेको भन्दै कटाक्षपूर्ण टिप्पणी पनि उहाँले गर्नुभयो । 

‘त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँशु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् । दिनदिनै त्यहाँ भएका मान्छेहरुले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौं’, उहाँ भन्नुहुन्छ, ‘कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौं ।’

एमाले नेतृत्व पूर्व सहकर्मीहरूमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको बताउनुभयो ।  कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टीपंतिलाई आग्रह गर्नुभयो ।

टिप्पणीहरू