ऐन पल्टाउने माधव नेपाल, पतञ्जलीको प्रशंसा गर्ने देउवा र पुष्पकमल

ऐन पल्टाउने माधव नेपाल, पतञ्जलीको प्रशंसा गर्ने देउवा र पुष्पकमल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा कतै पनि सुको भ्रष्टाचार नगरेको बताउनुभयो । समाजवादी प्रेस सङ्गठन नेपालको तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीले कुनै पनि बदमासी वा कुकर्मजस्ता अपराध नगरेको स्पष्ट पार्नुभएको छ ।

उहाँले नेपाल ऐन सङ्ग्रहअन्तर्गत भूमिसुधार ऐनका पाना पल्टाउँदै, हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न पाउने निर्णय मन्त्रिपरिषद्को अधिकार रहेको उल्लेख भएको बताउनुभयो । काभ्रेपलाञ्चोक मालपोत कार्यालय, स्वास्थ्य तथा भूमिसुधार मन्त्रालय आदिले सिफारिससमेत गरेकाले पतञ्जलि समितिलाई जग्गा किन्न अनुमति दिइएको र पछि त्यहाँ समस्यामा पारिएकाले बेच्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘मेरो क्याबिनेटमा त्यसबेला रहेका विद्यादेवी भण्डारी, सुजाता कोइराला,भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे,शङ्कर पोख्रेल,डा. मीनेन्द्र रिजाल,प्रेमबहादुर सिंह आदिको पनि सो जग्गासम्बन्धी निर्णयमा सहमति थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले काभ्रेमा गएर समितिका योजनाबारे निकै प्रशंसा गर्नुभएको थियो ।’

अर्को प्रसङ्गमा उहाँले आफ्नो पहलमा १८ वर्षअघि बनाइएको गौरदेखि चन्द्रनिगाहपुरसम्मको ४२ किमी सडक गुणस्तरीय भएकाले अहिलेसम्म खाल्टाखुल्टीसमेत नभएको जिकिर गर्नुभयो । त्यस्तै,आफूले शिलान्यास गरेको एक पुल निर्माणमा रकम निकासालगायत प्रक्रिया पूर्वाग्रहपूर्ण ढङ्गले अघि नबढाइएको आरोप उहाँले सरकारमाथि लगाउनुभएको छ । 

अध्यक्ष नेपालले संविधान जोगाउन, निरङ्कुशता अन्त्य गर्न,लोकतन्त्रको रक्षा गर्न र प्रतिगामी कदमलाई परास्त गर्नका लागि नेकपा (एमाले) बाट गरिएको विद्रोह पुष्टि भइसकेको जनाउँदै,पार्टीहरूबीच नीति,सिद्धान्त, सामूहिक नेतृत्व र सङ्गठनात्मक आधारमा कुरा मिले मात्र एकता सम्भव हुने,नत्र नहुने बताउनुभयो । उहाँले समाजवादी मोर्चा नेपाललाई बलियो बनाउने,विस्तार गर्ने,वामपन्थी आन्दोलनलाई सुदृढ गर्ने र शक्तिशाली बनाउने अहिलेको रणनीति रहेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट गर्दै पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेकपा (एस) का उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले एमालेले आफ्नो दुई तिहाइ भएको प्रतिनिधिसभा विघटन गर्दाको गल्ती स्वीकार गर्ने र कमजोरी सच्याउने भए मात्र ऊसँग मिल्न सकिने जनाउँदै, अन्यथा हात मिलाउन नसकिने स्पष्ट गर्नुभयो ।

त्यस अवसरमा विश्व प्रेस काउन्सिलको तान्जानियामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडिया हाउसका अध्यक्ष किशोर श्रेष्ठलाई सङ्गठनका तर्फबाट सम्मान गरिएको थियो । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष श्रेष्ठ नेपाल–चाइना मिडिया फोरमका पनि अध्यक्ष हुनुहुन्छ । 

सम्मानित व्यक्तित्व श्रेष्ठले नेपाल सरकारकै कमजोरीका कारण नेपालले यसअघि विश्व प्रेस काउन्सिलको अध्यक्ष पद गुमाएको जनाउँदै,ठोस,इमान्दार र सत्यतथ्यमा आधारित भएर खोजी तथा अनुसन्धानमूलक पत्रकारिता गर्न आग्रह गर्नुभयो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले मिसन पत्रकारिताका साथ नेपाली मिडियाको हकहितका लागि सङ्गठन सदैव अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टिप्पणीहरू