विश्वका नेताहरुको जमघटअघि प्रधानमन्त्री ओली चीनको धान खेतमा

विश्वका नेताहरुको जमघटअघि प्रधानमन्त्री ओली चीनको धान खेतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थिएन्चिनस्थित धान उत्पादन विशेष क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँ आज बिहान जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्र जानुभयो ।

थिएन्चिनमा सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन आज र भोलि दुई दिन हुँदै छ ।  चिनियाँ राष्ट्रपति सि जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत दुई दर्जन मुलुकका कार्यकारी प्रमुखहरुको सम्मेलनमा उपस्थिति रहनेछ ।

एससिओको डाइलग पार्टनर रहेको नेपालले उक्त संगठनको सदस्यताका लागि इच्छा जाहेर गरेको छ । प्रधानमन्त्री २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बिहान काठमाडौंबाट हिमालय एअरलाइन्सको उडानमा सोझै थिएन्चिन पुग्नुभएको थियोे । 

उहाँले हिजो अपरान्ह चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक हुँदै हालै गरिएको चीन–भारत व्यापार सहमतिप्रति विरोध जनाउनुभएको छ । चिनियाँ राष्ट्रपतिले कालापानीमा नेपालको सार्वभौम अधिकारप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया जनाउनुभएको बताइन्छ ।

 

टिप्पणीहरू