मन्त्रीसँग भनाभन गर्ने महिला पक्राउ
खानेपानी तथा सरसफाईमन्त्री प्रदीप यादवलाई फोनमार्फत् धम्की दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । वीरगञ्जकी किरण साहलाई प्रहरीले समातेको हो ।
मन्त्री यादवलाई फोन गरेर धम्क्याएको आरोप् लागेकी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सुवास भट्टले जानकारी दिए । उनका अनुसार मन्त्रीका स्वकिय सचिवले प्रहरीमा उजुरी दिएपछि कारवाही प्रक्रिया अघि बढेको हो ।
बताइएअनुसार केही दिनअघि वीरगञ्जमा फैलिरहेको हैजा महामारीको विषयमा मन्त्रीसंग ती महिलाको फोनमा भनाभन भएको थियो । आफ्नो परिवार नै संक्रमित भएको भन्दै उनले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएकी थिइन् ।
त्यसक्रममा मन्त्री यादवले ‘तपाईसँग विरामीहरुको डाटा छ ?’ भनेर सोध्दा महिलाले ‘डाटा होइन, घरका मान्छे आईसियुमा छन् मन्त्रीजी, म तपाईलाई छाड्दिनँ’ भन्दै धम्की दिएकाे डिएसपी भट्टले जानकारी दिए । उनले भने, ‘घरका मान्छे हैजाले अस्पतालमा रहेछन्, कमजोर आर्थिक अवस्था रहेछ, सिधै मन्त्रीज्यूलाई फोन गरेर धम्की दिएकी रहेछिन् ।’
हिसरातमा रहेकी २३ वर्षीया उनले अहिले पनि मन्त्रीलाई धम्की दिएकोमा कुनै पश्चाताप मानेकी छैनन् । ‘मन्त्रीलाई फोन गरेर जथाभावी गाली र धम्की दिन मिल्छ त ? भनेर सोध्दा उल्टाे मिल्छ, मैले गरे भनिरहेकी छन्’, डिएसपीले थपे ।
टिप्पणीहरू