पैसा कमाउन विदेश गएका वडाध्यक्ष अचानक बैठकमा झुल्किएपछि....

पैसा कमाउन विदेश गएका वडाध्यक्ष अचानक बैठकमा झुल्किएपछि....

चुनावमा लागेको ऋण तिर्न भन्दै विदेश भासिएका जनप्रतिनिधि एकाएक कार्यापालिका बैठकमा झुल्किएपछि विवाद भएको छ । 

दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ गत वर्ष साउन २० गते बेलायत गएका थिए । वडा सदस्य चम्फा पुनलाई कार्यवाहक सुम्पिएर विदेशीएका उनी लामो समय वेखबर रहे । तर, केही दिनअघि नेपाल फर्किएका उनी पुन: वडाध्यक्षको जिम्मेवारी लिने दाउपेचमा लागेपछि कार्यपालिका बैठकमा चर्काचर्की भएको हो । 

गुरुङ ०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । तीजको मौका पारेर स्वदेश फर्किएका उनले पुरानै जिम्मेवारीमा फर्किन चाहेपछि अन्य जनप्रतिनिधिले आपत्ति जनाएका छन् । 

बताइएअनुसार गत शुक्रबार पालिका कार्यालयमा कार्यपालिका बैठक बसेको थियो । कावा वडाध्यक्ष चम्फा विरामी भएर अस्पताल भर्ना भएकाले अर्का वडा सदस्य सुन्दर शाहीलाई बैठक चलाउने जिम्मेवारी थियो । तर, वडाध्यक्ष गुरुङले उक्त जिम्मेवारी दावी गर्न खोजेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । 

‘उहाँ फर्किनुभएको रहेछ, एक वर्षसम्म हराएको मान्छेले फेरि जिम्मेवारी दावी गर्दै हुनुहुन्छ’, उनले भने, ‘जनप्रतिनिधिको हकमा स्पष्ट कानुन नहुँदा हामीलाई समस्या भयो, नैतिकताको आधारमा उहाँले जिम्मेवारी पाउनुहुन्न, कानुनी हिसाबले दावी गरिरहनुभएको छ ।’

गुरुङले गत वर्ष बेलायत जाँदा कार्यवाहक जिम्मेवारी तोकेकाले त्यो राजीनामा पत्रसरह नै मानिने अध्यक्ष विष्टको ठहर छ । 

‘बैठकमा अन्य कार्यपालिका सदस्यले आपत्ति जनाउनुभयो, मन लाग्यो गयो, मन लाग्यो आयो, यो राम्रो होइन भन्नुभयो’, अध्यक्षले भने, ‘वडाध्यक्ष पद पनि एउटा जागिरजस्तै हो, एक वर्ष हराउँदा जागिर गइसक्छ, उहाँले राजीनामा दिनु नै उपयुक्त हुन्छ, नैतिकतालाई ख्याल गर्नुपर्छ ।’

 याे पनि....

ऋण लागेपछि वडाध्यक्ष बेलायत पलायन !
 

टिप्पणीहरू