संसदीय समितिमा एमाले सांसदको कटाक्ष
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत परियोजना निर्माणका सन्दर्भमा उर्जा र वन मन्त्रालयबीच समन्वय हुन नसकेको भन्दै असन्तुष्टि जनाएकी छन् ।
संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो किन भैरहेको छ भनेर प्रष्ट पनि उठाइन् । हाईड्रोपावरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा सांसद सुब्बाले व्यङ्ग्य गर्दै उर्जा र वन मन्त्रालयको भेट हुँदैन कि जस्तो लाग्न थालेको छ पनि भनिन् ।
पहिला वन र भूमीसुधार मन्त्रालयको बीचमा समन्वय नहुने गरेको स्मरण गर्दै उनले अहिले त्यो समस्या उर्जा र वनतिर देखिन थालेको बताईन् । ‘सिंहदरबार भित्रै छ, भेटघाटचाहिं किन नभएको होला ?’ बैठकमा सुब्बाको प्रश्न थियो ।
दुई मन्त्रालयबीच भेटघाट गर्नको लागि पुल बनाईदिनुपर्ने भए आफू तयार रहेको भन्दै उनले कटाक्ष पनि गरिन् । मन्त्रालयले आयोजना बनाउन दिएपछि अड्काउन नहुनेमा उनको जोडरह्यो ।
उर्जाले परियोजना निर्माणको लाईसेन्स दिने बेलामा नै वन मन्त्रालयलाई जानकारी गराइनुपर्ने सांसद सुब्बाको भनाइ छ ।
टिप्पणीहरू