घनश्यामलाई रुपन्देही ३ मा जिल्ला कमिटीको साथ
नेकपा (एकीकृत समाजवादी) ले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भैरहवामा बसेको जिल्ला कमिटी बैठकले उम्मेदवार छनोट कार्यदलसमक्ष सात जनाको नाम बुझाएको छ ।
भुसालसहित जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको बताइन्छ । उम्मेदवार छनोट कार्यदलले यी मध्येबाट तीन जनाको नाम केन्द्रीय समितिमा पठाउनेछ।
छनोट कार्यदलमा पार्टी केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सहइञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष हुसेन खाण, जिल्ला इञ्चार्ज नन्दलाल बञ्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह छन् । उक्त कार्यदलले छनोट गर्ने तीन जनाको नामबाट केन्द्रीय समितिले एक जनालाई आधिकारिक उम्मेदवार बनाउने छ ।
सिफारिस भएका उम्मेदवार भुसाल एमाले विभाजनअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट उठेका उनी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका हुन् ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीले डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि उम्मेदवार छनोटको अन्तिम चरणमा देखिन्छन् ।
टिप्पणीहरू