सचिवको गाडी मन्त्रीद्वारा गायब
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले आज मुख्यमन्त्री कार्यालय परिसरमा अराजकता प्रदर्शन गरेका छन् । आफ्नै मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको साँचो खोसेर चालकलाई समेत धम्काएको बताइन्छ ।
एकजना प्रत्यक्षदर्शीका अनुसार सचिव पाण्डे आज बिहान ११ बजेतिर मुख्यमन्त्री कार्यालय पुगेका थिए । ‘एउटा बैठक थियो, त्यसकै लागि मुख्यमन्त्री कार्यालय गएको थिएँ,’ सचिव पाण्डे भन्छन्, ‘साढे १ बजेतिर बैठक सकियो, बाहिर निस्कँदा गाडी नै थिएन ।’
सचिव पाण्डे बैठकमा व्यस्त रहँदा मन्त्री हाङ्गाम त्यहाँ पुगेर चालकसँग गाडीको साँचो खोसेका हुन् । गाडी बेपत्ता पारिएपछि सचिव पाण्डे मोटरसाइकल बोलाएर निवास फर्किएका थिए । ‘बाहिर निस्कँदा गाडी पनि थिएन, ड्राइभरको मोबाइल अफ थियो, अहिले पनि अफ नै छ,’ पाण्डेले थपे, ‘त्यहाँ रहेका कर्मचारीले ‘गाडी मन्त्रीज्यूले लगिसक्नुभयो’ भनेपछि बाइक बोलाएर फर्किएँ ।’
मन्त्री हाङ्गाम र सचिव पाण्डेबीच केही महिनायता विवाद जारी छ । करारका चालक हटाएर आफ्नो मान्छे नियुक्त गर्ने मन्त्री हाङ्गामको प्रयासलाई सचिव पाण्डेले अस्वीकार गरेपछि विवाद चर्किएको हो । यसअघि झापामा कर्मचारी नियुक्ति विषयमा पनि दुवैबीच विवाद भएको थियो । मन्त्री हाङ्गामले सचिव पाण्डेको सरुवा समेत गराइदिएका थिए, यद्यपि उक्त सरुवा थमौति भइसकेको छ । सोही आक्रोशमा मन्त्री हाङ्गामले गाडी खोसेको हुनसक्ने पाण्डेको बुझाइ छ ।
गाडी खोसिएको वास्तविकताबारे सचिव पाण्डेले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराएका छन् । ‘ड्राइभरलाई पनि धम्की दिनुभएकै होला, त्यसैले मोबाइल अफ गरेर बसेको छ,’ उनले सुनाए, ‘मैले मुख्यमन्त्रीलाई जानकारी गराएको छु, उहाँले चिन्ता नगर्नुस्, म संवाद गर्छु भन्नुभएको छ ।’
सचिव पाण्डेले मन्त्री हाङ्गामको कार्यशैलीले मन्त्रालयतर्फ गलत सन्देश गइरहेको पनि बताए । ‘मेरो कार्यकक्ष मन्त्रालयको पहिलो तल्लामा छ, मन्त्रीज्यूको कार्यकक्ष अर्को छुट्टै भवनमा छ,’ उनले थपे, ‘अहिलेसम्म सबै काम डिजिटल भएकाले प्राविधिक समस्या छैन, तर उहाँको कार्यशैलीले गलत सन्देश गइरहेको छ ।’
नेपाली काँग्रेसको कोटाबाट मन्त्री बनेका हाङ्गाममाथि अन्य कर्मचारीलाई समेत धम्की दिएको आरोप छ । जिन्सी शाखाका एक कर्मचारीले पनि मन्त्री हाङ्गामको व्यवहार अराजक प्रवृत्तिको भएको दाबी गरेका छन् । उनले जनआस्थासँग भनेका छन्, ‘कतिपय मान्छेको व्यक्तित्वले धेरै फरक पार्छ । उहाँको शैली र व्यवहार गतिलो छैन, ‘मै हुँ’ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ ।’
टिप्पणीहरू