सैन्य परेडमा ताइवानका पूर्व कोमिन्ताङ पार्टी अध्यक्ष सहभागी हुँदै
ताइवान सरकारको चेतावनीका बावजुद त्यहाँका राजनीतिक र व्यवसायीहरुको टोली भोलि बिहान हुने सैन्य परेडको अवलोकनमा भाग लिन बेइजिङ पुगेको छ । ताइवानको पूर्व कोमिन्ताङ (केएमटी) अध्यक्ष हुङ सियु–चुसहित केही राजनीतिज्ञ तथा व्यवसायीहरुको प्रतिनिधि मण्डल चीन गएकोवारे हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ । उसका अनुसार हुङले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै आफू मुख्यभूमिको राजधानी बेइजिङ पुगिसकेको लेखेकी छन् । उनले भोलिको परेडमा उपस्थित हुने जानकारी पनि दिएकी छन् ।
हुङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी एकसाथ उपस्थित भई यस राष्ट्रिय विपत्तिको विजय क्षणको सम्झनामा भाग लिन सक्षम भएका छौं । यो इतिहासप्रतिको हाम्रो जवाफ हो ।’
हुङ सियु–चु ताइवान–चीन जल डमरु क्षेत्रमा शान्तिका पक्षधर हुन् । उनले यसअघि बेइजिङमा आयोजित ११औँ क्रस–स्ट्रेट शान्तिपूर्ण विकास फोरममा ताइवानी प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।
बेइजिङमा भोलि जापानी अतिक्रमणकारी र विश्व फासीवादी युद्धमा चीनले विजय हासिल गरेको उपलक्ष्यमा भव्य सैन्य परेड आयोजना गरिँदैछ ।
टिप्पणीहरू