नवप्रवर्तनमा चीन अगाडि, अमेरिका दोस्रो
विश्वव्यापी नवप्रवर्तन केन्द्रहरूको सूचीमा चीनको दबदबा देखिन्छ । वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (डब्लुआईपीओ) का शीर्ष एक सय नवप्रवर्तन क्लस्टरमध्ये २४ चीनमा रहेको बताइन्छ । यसबाट पनि विश्वमा नवप्रवर्तन र प्रविधि विकासको अग्रणी देशको रूपमा चीनले आफ्नो स्थान अझ सुदृढ बनाएको देखिन्छ ।
अमेरिका २२ नवप्रवर्तन क्लस्टरसहित दोस्रो स्थानमा छ । यद्यपि अमेरिकामा प्रविधि र अनुसन्धानका क्षेत्रमा ठूलो योगदान भए पनि चीनले गत वर्षदेखि तीव्र रूपमा नवप्रवर्तन केन्द्रहरूको संख्या बढाउँदै आएको छ ।
उक्त सूचीमा जर्मनी सात, भारत चार र बेलायत चार क्लस्टरसहित शीर्ष पाँचमा देखिन्छन् । विशेषज्ञहरूका अनुसार चीनमा नवप्रवर्तन केन्द्रहरूको वृद्धि र तीव्र विस्तारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यसको स्थिति थप सशक्त बन्दै जाने छ ।
चीनका नवप्रवर्तन केन्द्रहरूमा मुख्यतयाः इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता (एआई), स्वःचालित र हरित प्रविधि जस्ता क्षेत्र केन्द्रित छन्। अमेरिका र जर्मनीका केन्द्रहरू प्रायः सफ्टवेयर विकास, जैविक–प्रविधि र उच्च प्रविधि निर्माणमा केन्द्रित छन् । भारत र बेलायतमा भने डिजिटल नवप्रवर्तन, शिक्षा प्रविधि र स्टार्टअप उद्योगमा केन्द्रित क्लस्टरहरू अगाडि आएको बताइन्छ ।
यो तथ्यले विश्वव्यापी रूपमा नवप्रवर्तनमा प्रतिस्पर्धा तीव्र हुँदै गएको स्वतः पुष्टि हुन्छ । नवप्रवर्तन केन्द्रहरूको संख्या र गुणस्तर दुवैले मुलुकको आर्थिक विकास, रोजगारी सृजना र प्राविधिक आत्मनिर्भरता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।
टिप्पणीहरू