रूपन्देहीमा कसको, के रणनीति ?

रूपन्देहीमा कसको, के रणनीति ?

राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देहीको उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरे पनि कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशवादी दल भने अनिर्णित छन् । काठमाडौंका मेयर बालेनको टोलीले वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई उठाउने सम्भावना छ । त्यसो त अर्यालको पक्षमा माहौल बनाउन २६ गतेपछि १४ लाखको हाराहारीमा रहेका सहकारी पीडितहरूको हस्ताक्षर संकलन अभियान पनि शुरु गर्ने तयारी भैरहेको बताइन्छ ।

निर्वाचन क्षेत्रको भ्रमण गरेर काठमाडौं आएका अर्यालले बालकृष्ण खाँण नउठ्ने, सागर ढकाल जसले डडेलधुराको चुनावमा शेरबहादुर देउवालाई टक्कर दिई १३ हजार मत ल्याए पनि निराश देखिएको विश्लेषण गरेका छन् । यी सबै परिस्थितिको विश्लेषण गर्दा काठमाडौंका मेयर साहको खुला सपोर्ट निकै महत्वपूर्ण र अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।

कांग्रेसले खाँणलाई टिकट दिएको अवस्थामा सबै प्रतिद्वन्द्वीले नक्कली भुटानी शरणार्थीलगायतका अनेक मुद्दा उठाएर हैरान बनाउने आकलन छ । स्रोतका अनुसार खाँणले टिकट नपाए पनि नेपाली कांग्रेस नै अहिलेको अवस्थामा सबैभन्दा दह्रो देखिएको छ । दोस्रो शक्ति रास्वपा नै हो ।

मेयर साहसँग निकट पत्रकार होम कार्कीमार्फत् विभिन्न दलका नेता तथा कार्यकर्ताहरूबीच वैकल्पिक शक्ति तयार पार्न छलफल चलाउने क्रममा कुलमान घिसिङ, रमेश खरेल, हर्क साम्पाङ, मुकुल ढकाल पनि सहभागी हुन सक्ने बताइन्छ । भ्रष्टाचार र कुशासनविरुद्धको महाअभियान चलाइरहेका पूर्व कर्णेल माधवसुन्दर खड्का डा. बाबुराम भट्टराई लगायत यी व्यक्तिहरुलाई समेटेर नयाँ शक्ति बनाउनमा कस्सिएको बुझिएको छ ।

टिप्पणीहरू