ओलीलाई ‘हत्यारा’ भन्ने प्रदेश प्रमुखको भूमिकामाथि आशंका

ओलीलाई ‘हत्यारा’ भन्ने प्रदेश प्रमुखको भूमिकामाथि आशंका

लुम्बिनी प्रदेशमा प्रमुखले नै प्रतिपक्षीको रणनीति सिकाएपछि सत्ता गठबन्धनभित्र किचलो चर्किएको छ । प्रदेश प्रमुख कृष्ण घर्तीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द पुन सिजललाई सरकारकाे विरोध गर्ने रणनीति सिकाएको आशंका एकथरीले गरेका छन् । जसका कारण उत्पन्न अविश्वासले गठबन्धनमा बेलेम देखिएको हो । 

नेपाली कांग्रेसको कोटाबाट प्रदेश प्रमुख बनेका घर्ती र सांसद पुनबीच घनिष्ठ सम्बन्ध छ । घर्तीले शेरबहादुर देउवापछि नेता मान्ने भनेको उनै पुनलाई हो भन्छन् जानकारहरु । त्यहि भएर कतिपयले उनलाई ‘कांग्रेसभित्रको माओवादी’ समेत भन्ने गरेको पाइन्छ । 

उक्त पृष्ठभूमिमा प्रदेश प्रमुख घर्तीले पुनलाई अघि सारेर सरकारविरुद्ध रणनीति बनाएको दावी स्रोतको छ । बताइएअनुसार पुनसहितका विपक्षी नेताहरू केही दिनअघि घर्तीलाई भेट्न कार्यकक्षमै पुगेका थिए, जहाँ कांग्रेस र एमालेको गठबन्धन सरकरले सिन्काेसमेत भाँच्न नसकेको भन्दै चर्को आलोचना भएको थियो ।

पुनले सरकारको विरोध गरेपछि त्यसमा सही थाप्दै प्रदेश प्रमुख घर्तीले प्रधानमन्त्री ओलीको निन्दा गरेको बताइन्छ । उनको भनाइ स्रोतले सुनायो, ‘केपी ओलीजस्तो मान्छे प्रधानमन्त्री भएको बेला म प्रदेश प्रमुख बन्नु परेकाे छ, मलाइ पनि लाज लाग्छ, तर के गर्नु राजनीति यस्तै हुँदो रहेछ !’

घर्ती उनै पात्र हुन्, जो प्रदेश प्रमुख हुनुअघि एमाले र अध्यक्ष ओलीको चर्को आलोचक थिए । उनले गाउँ गाउँमा पुगेर ओलीलाई ‘हत्यारा’ भन्दै उग्र भाषण गरको भिडियो क्लिप अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ । तर, गठबन्धनको भागवण्डामा पार्टी सभापति देउवाको चाहनाबमोजिम गत वर्ष साउन १६ गते उनी प्रदेश प्रमुख बने । त्यसयता भने पदीय मर्यादाका कारण सार्वजनिकरूपमा त्यसरी बोल्दै हिँडेको सुनिएको छैन ।

यद्यपि, प्रदेश सभा सदस्य सिजल पुनसँगको पछिल्लो भेटमा दिएको अभिव्यक्तिबाट उनले भित्रभित्रै भने अहिले पनि ओलीप्रति असन्तुष्टि जनाउन नछोडेको पुष्टि हुन्छ । उक्त भेटपछि घर्तीको सचिवालयको आधिकारिक फेसबुक अकाउण्टबाट एउटा स्टाटस सार्वजनिक भएको थियो, जहाँ घुमाउरो भाषामा प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि पोखिएको छ ।

‘प्रदेश प्रमुख घर्तीसँग निवर्तमान स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले भेटघाट गर्नुभएको छ, सोक्रममा पुनले दुई ठूला दलहरु मिलेर प्रदेश सरकार सञ्चालन गर्दा तहसनहस पारेको गुनासो गर्नुभएको थियो’, भेटघाटको तस्वीरसहितको स्टाटसमा लेखिएको छ, ‘अहिले त आफूलाई लुम्बिनी प्रदेशको सांसद हो भनेर लाज लाग्ने अवस्था बनेको समेत बताउनुभएको थियो ।’

प्रदेश प्रमुखकै सचिवालयबाट यस्तो स्टाटस सार्वजनिक भएपछि गठवन्धनका नेताहरुले तत्कालै आपत्ति जनाएका थिए । अहिले उक्त स्टाटस र फोटो हटाइएको छ । स्रोतका अनुसार पार्टीका नेताहरूको सल्लाहमा प्रदेश प्रमुख घर्तीले स्टाटस हटाएका हुन् । 

स्रोतको दावी छ, ‘स्टाटसमा दिपेन्द्र पुनले भन्नुभयो भनेर जुन कुरा भनिएको छ, त्यो उहाँ (घर्ती)कै मनको कुरा हो, भाषा मिलाइएको मात्र हो ।’ कतिसम्म भने प्रदेश प्रमुख घर्तीले सांसद पुनसँगको भेटमा ‘तपाईहरु भन्नुस्, कुन विधेयक फिर्ता गर्नुपर्छ ?’ भन्दै सरकारकै विरोध गरेको पनि स्रोत सुनाउँछ ।

‘लाज त मलाई पनि लाग्या छ नि, यो गठबन्धनको काम नै छैन’, प्रदेश प्रमुखको भनाई उदृत गर्दै स्रोत थप्छ, ‘सभाले विधेयक मलाई पठाउने हो, तपाईहरुलाई कुन विधेयक फिर्ता चाहिन्छ, मलाई भन्नुस्, फिर्ता गरिदिन्छु।’

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका एक पदाधिकारीले समेत प्रदेश प्रमुख घर्ती गठवन्धनका मान्छे हुन् कि विपक्षीका ? भन्दै प्रश्न गरेका छन् ।

 

टिप्पणीहरू