‘वरिष्ठ’ तिरै गृहमन्त्रीको बल
हिजोसम्म अतिरिक्त महानिरीक्षकको जिम्मेवारीमा रहेका चन्द्रकुबेर खापुङले आजदेखि प्रहरी संगठनको जिम्मेवारी सम्हालेका छन् । आइजिपी नियुक्तिमा राजनीतिक खिचातानी र शक्ति केन्द्रको चलखेल हुने विगतको गलत परम्परालाई गृहमन्त्री रमेश लेखकले गत चैत र यसपटक उल्टाइदिएका हुन् ।
संविधान निर्माण र कानुन मन्त्रालय सन्चालनमा समेत सँलग्न लेखकले गत चैतमा बसन्त कुँवरको अवकाशपछि वरिष्ठ एआईजी दिपक थापालाई नियुक्त गरेका थिए । थापाको अवकाशपछि यस पटक ६९ दिनका लागि भए पनि वरिष्ठतामा अगाडि रहेका खापुङलाई उक्त जिम्मेवारी दिएर छ महिना अघिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको देखिन्छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका कारण पनि हुनसक्छ सरकारले यसपटक पद रिक्त हुनु एक साताअघि नै नयाँ महानिरीक्षक नियुक्त गरेर अर्को सकारात्मक सन्देश दिएको छ । शनिबार चीन जानुभएका प्रधानमन्त्री हिजो राति स्वदेश फर्कनुभयो ।
हिजै थापाको बिदाईपछि एक साताअघि नियुक्त खापुङले आजदेखि महानिरीक्षकको जिम्मेवारी सम्हालेका छन् । यही थिती कायम रहेमा मन्त्री लेखकले आगामी कात्तिक महिनाको अन्तिममा रिक्त हुने आइजिपी नियुक्तिमा समेत वरिष्ठताको सम्मान गर्नेमा कुनै द्विविधा नरहेको उनी निकटस्थहरुको दावी छ ।
सुदूर पश्चिमका एक जना काँग्रेसी नेता भन्छन्, ‘प्रहरी संगठनलाई राजनीतिक दबाब मुक्त बनाउँदै प्रणालीयोग्य बनाउन उहाँ लागि पर्नुभएको छ । सरुवा, बढुवामासमेत निष्पक्षता कायम राख्न खटिनुभएकाले नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र अनुसन्धान विभागमा सकारात्मक प्रभाव परेको नतिजा बिस्तारै देखिन्छ ।’
टिप्पणीहरू