बान्नीगढीका अध्यक्षले दिए कर्मचारीको टाउको फुटाइदिने धम्की
अछामको बान्नीगढी गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ । उनले कर्मचारीलाई ‘ड्याङ्ना (लठ्ठी) ले हानेर टाउको फुटाइदिने’ धम्की दिएका हुन् । आज लेखाशाखामा पुगेका उनी र एक कर्मचारीबीच १५ शय्याको अस्पताल निर्माणको भुक्तानीलाई लिएर विवाद भएको थियो ।
सो क्रममा उनले टाउको फुटाइदिने धम्की दिएको स्रोतको जिकिर छ । ‘पालिकामा निर्माणाधीन अस्पतालको भुक्तानी त्रुटिपूर्ण रहेकोले बेरुजु आउने देखिएको छ । भुक्तानी भएको रकम बेरुजु भई असुलउपर गर्नुपर्ने वा फिर्ता बुझाउनुपर्ने अवस्था आए ड्याङ्नाले हानेर कर्मचारीको टाउको फुटाउने धम्की पालिका अध्यक्षले दिनुभएको हो’,स्रोतले भन्यो ।
स्रोतका अनुसार अध्यक्ष साउँदले गाउँपालिकाको प्रशासनिक भवन र १५ शय्या अस्पतालको कामभन्दा बढीको मूल्याङ्कन गरी भुक्तानी दिन लगाएका हुन् । उनको ठाडो निर्देशनमा सो काम भएको स्रोत बताउँछ । सो विषयमा बुझ्न खोज्दा अध्यक्ष साउँदसँग सम्पर्क हुन सकेन ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावलले अध्यक्ष साउँदले कसैलाई धम्की नदिएको दावी गरे । जनआस्थासँग उनले भने,‘अध्यक्षज्यूले कसैलाई धम्की दिनुभएको छैन ।’ लेखा अधिकृत नारदप्रसाद खनालले आफू तालिमका लागि काठमाडौंमा रहेको बताए । ‘म त तालिमको लागि काठमाडौंमा छु । त्यसैले मलाई केही थाहा छैन’,उनले भने ।
पालिकाका सूचना अधिकारी अर्जुनप्रसाद जोशीले अध्यक्ष साउँदले ‘टाउको दुखाई’ भनेको तर कर्मचारीहरुले ‘टाउको फुटाई’ सुनेको दावी गरे । भन्छन्,‘म त्यहीँ थिए, अध्यक्षज्यूले टाउको दुखाई भन्नुभएकोमा उहाँहरुले टाउको फुटाई सुन्नुभएको हो ।’
उसो त, गाउँपालिका अध्यक्ष साउँदले अस्ति राति जयगढ रोड बजारको एक होटलमा मदिरा सेवन गरेर जथाभावी बोलेका थिए ।
टिप्पणीहरू