युवाको बढ्दो आक्रोश,केही मन्त्री हट्दै,सरकार झन संकटमा

युवाको बढ्दो आक्रोश,केही मन्त्री हट्दै,सरकार झन संकटमा

जेनजीको आन्दोलनमा अकल्पनीय क्षतिले सरकार अप्ठेरोमा परेको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका १९ जना होनहार युवाको ज्यान गएपछि सरकार छोड्नुपर्ने दबाबमा रहेको नेपाली काँग्रेसका केही मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । 

कांग्रेसको संस्थापनइतर खेमाबाट वर्तमान सरकारमा सहभागी ३ मन्त्रीले आजै राजीनामा दिन लागेको बताइएको छ । सो पक्षका नेता डा. शेखर कोइरालाको निर्देशनपछि उनीहरु अहिले छुट्टै छलफलमा जुटेका छन् । चीनमा  रहेका शेखर भ्रमण छोट्याएर नेपाल फर्किंदैछन् । कांग्रेस-एमाले नेतृत्वको सरकारको औचित्य सकिएको उनको प्रारम्भिक प्रतिक्रिया छ । 

काँग्रेसमा स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेल,कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे शेखर पक्षबाट सरकारमा सहभागी भएका हुन् । खेलकुद मन्त्री तेजुलाल चौधरी राष्ट्रपति रामचन्द्र पौडेल र उर्जामन्त्री दिपक खड्का सशांक कोइराला पक्षका मानिन्छन् । 

यता,महामन्त्री गगनकुमार थापाले कांग्रेस तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् । यो परिस्थितिको थप साक्षी बसेर सत्ता साझेदार हुन नसक्ने उनले प्रष्ट पारेका छन् । 

सभापति शेरबहादुर देउवा भने सात बुँदे सहमतिलाई देखाएर सरकारबाट बाहिरिन मानेका छैनन् । हिजो पदाधिकारी बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने माग उठ्दा उनले सात बुँदे सहमति के गर्ने त भन्दै आनाकानी गरेका थिए।

टिप्पणीहरू