खुमलटारपछि आन्दोलनकारीहरु बालकोट र बूढानीलकण्ठ निवास बाहिर
हिजोदेखि आन्दोलनमा उत्रिएका युवाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा ढुंगामुढा र आगजनी गरेका छन् ।
युवाहरुले ललितपुरको खुमलटारस्थित प्रचण्ड निवास पुगेर ढुंगामुढा गरेका हुन् । प्रहरीले भीड नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा भन्दै जेनजी पुस्ताले थालेको आन्दोलनको दोस्रो दिन युवाहरु थप उग्र बन्दै गएका छन् । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा युवाहरुले आगजनीको योजना बनाएका छन् । अहिले ओली निवासबाहिर चर्को नाराबाजी भइरहेको छ, भने प्रहरीले भीड नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
युवाहरुले कांग्रेस सभापति शेरबहादुर देउवा निवास पनि घेराउ गर्दैछन् । बूढानीलकण्ठतर्फ अघि बढेको युवाहरुलाई प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । तर, युवाहरुको संख्या थपिँदै गएकोले भीड बढ्ने अनुमान छ ।
टिप्पणीहरू