देश बिगार्नमा भवनको के दोष ?
भ्रष्टाचारमा व्यक्तिको हात हुन्छ कि भवनको ? आन्दोलनका नाममा आतंक मच्चाउने जेन जीलाई जनताको प्रश्न हो यो । नयाँ नेपाल बनाउने भन्दै सडकमा उत्रिएका जेन जीहरुले भएका पुरानैको संरक्षण गर्न नसक्दा ऐतिहासिक धरोहरहरु क्षणभरमै ध्वस्त बनेको छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध राजधानीको माइतीघर मण्डलाबाट अस्ति बिहान शुरु भएको आन्दोलन एकाएक हिंसात्मक र ध्वंशात्मक बन्न पुग्यो ।
नेताहरुको घरबाट आगो झोस्न थालिएकोमा सिंहदरबार,संसद भवन, राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री निवास,सयौं सरकारी कार्यालय, व्यक्तिगत सम्पत्तिलाई खरानी बनाइयो । अब यी भवनहरु तस्विरमा मात्र सीमित बनेको छ । सिंहदरबार एउटा भवन मात्र थिएन,नेपालीको इतिहास थियो । त्यो भवनसँग नेपालीको भावना जोडिएको थियो ।
सबै जनताको साझा सम्पत्तिमा आक्रोश भन्दै आगो लगाउनु ठीक हो ? अर्कोतर्फ आफैंले तिरेको करबाट बनेको संरचनामा आगो लगाउनेलाई कुन मुखले चेतनशील जमात भन्ने ?
सिंहदरबार हेर्दा नेपाली हुनुमा गर्व लाग्थ्यो । सिंहदरबार मात्र होइन, नेपालीको इतिहास र शान पनि धुँवासँगै उडेको छ । सिंहदरबार बलेको देख्दा धेरै नेपालीको मन रोएको छ । त्यो घटनाले जेन जीको आन्दोलनप्रति नेपालीले थकथकी मानिरहेका छन् । पुर्खाले सिर्जिएको सम्पदाको महत्व नबुझेकाले के नयाँ देश बनाउँछन् ? भन्दै प्रश्न उठाइएको छ । एकछिनको आवेगमा आएर जलाइएको सिंहदरबारलाई पुरानै अवस्थामा फर्काउन अब धेरै गाह्रो छ ।
देश आर्थिक संकट र वैदेशिक ऋणमा डुबेको अवस्थामा सार्वजनिक सम्पत्तिमा गरिएको खर्बौंको क्षतिले मुलुकलाई बिसौं वर्षपछाडि धकेलेको छ । मुलुकमा भएका सबै सरकारी कार्यालय जनताले तिरेको करबाट बनेको हो । सबै जनताको साझा सम्पत्तिमा आक्रोश भन्दै आगो लगाउनु ठीक हो ? अर्कोतर्फ आफैंले तिरेको करबाट बनेको संरचनामा आगो लगाउनेलाई कुन मुखले चेतनशील जमात भन्ने ?

अहिले अन्धाधुन्ध भएर आगो लगाइएकोमा त्यो पुनःनिर्माण गर्दा फेरि जनताले तिरेकै कर सकिने हो । जनतामाथि कर थुपारिन्छ,महङ्गी बढाइन्छ । भनिन्छ नि,‘भत्काउन धेरै सजिलो छ,बनाउन धेरै गाह्रो ।’ अबको अवस्था त्यस्तै छ । जुनसुकै सरकार बने पनि कानुन निर्माण गर्न संसद भवन चाहिन्छ । प्रधानमन्त्री र मन्त्री बस्न सिंहदरबार नभईकन हुँदैन । सरकारी कार्यालयबिना सेवा प्रवाह हुनसक्दैन ।
न्यायालयबेगर कानुनी राज्यको परिकल्पना गर्न सकिँदैन । प्रहरी कार्यालय र कारागार नै नभए, कैदीबन्दीलाई कहाँ लगेर थुन्ने ? तर,देश बनाउन हिँडेको जमातले यति सामान्य कुरा पनि ख्याल गरेको देखिएन । मुलुकमा बारम्बार आन्दोलन भए । तर, यसपटकजस्तो विध्वंश कहिल्यै मच्चाइएको थिएन । राजनीतिक परिवर्तनका क्रममा भएको आन्दोलनमा पनि सार्वजनिक सम्पत्तिको संरक्षण गरिएको थियो ।
सामाजिक सञ्जालमा चर्को विरोध
सार्वजनिक सम्पत्तिमाथि आगजनीपछि जेन जीहरुको आलोचना शुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अमृत बास्कुनेले लेखेका छन्,‘अनपढले चलाउने भन्दै कुर्लन्थ्यौ नि है,पढेलेखेकाले झन् जलायौँ इतिहासै ।’ ‘सिंहदरबार जलेको हो कि,खै कुन्नि यो मन जलेको हो’,अर्कोले पीडा पोख्दै भनेका छन् । महिला अधिकारकर्मी जस्मिन ओझाले जथाभावी क्षति गर्ने पुस्ता आफ्नो हुँदै नहुने बताएकी छन् ।
लेख्छिन्,‘जिउँदो मान्छे जलाइयो, अदालत जलाइयो,सिंहदबार जलाइयो । केही गल्ती नभएका मान्छेहरु कोही होस्टेलभित्र फसेका छन्,कोही होटलको छतमा फसेका छन् । एकजना महिला प्रहरी अघि कामेर रुँदै हुनुहुन्थ्यो । देशभरि विभिन्न कारागारबाट कैदीहरु भागे । कत्रो ठूलो लडाइँ लडेर,दुःखकष्ट सहेर तिनलाई कैदमा राखिएको थियो, नबुझ्ने कसरी मेरो पुस्ता हुनसक्छ ? हामीले त्यही मान्छेलाई प्रश्न गर्ने हो जसले गलत गरेका छन् । जो जवाफदेही हुनुपर्ने हो । यस्तो त हुँदै भएन ।’
एक जनाले नेता रावण भएपनि देश जलाउनका लागि लंका नभएको प्रतिक्रिया दिएका छन् । भन्छन्,‘राष्ट्रिय सम्पत्ति जलिरहेछ,मन पोलिरहेछ । नेताहरु रावण भए पनि देश लंका होइन जलाउनलाई ।’
टिप्पणीहरू