नयाँ प्रधानमन्त्रीको कार्यालय गृह मन्त्रालयमा

नयाँ प्रधानमन्त्रीको कार्यालय गृह मन्त्रालयमा

नयाँ नियुक्त हुने अन्तरिम सरकारका प्रधानमन्त्रीको कार्यकक्ष गृह मन्त्रालयको नयाँ भवनमा राख्ने तय भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न सचिवहरुले आज सिंहदरबारमा आगलागीबाट क्षति भएका भौतिक संरचनाको अवलोकनपछि तत्कालको लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरेका हुन् । 

मंगलबारको विध्वंशकारी आन्दोलनको क्रममा युवाहरुले आगो लगाउँदा सिंहदरबारको ८० प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका भवनहरु आगोले ध्वस्त भएको पृष्ठभूमिमा राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान नयाँ प्रधानमन्त्रीको कार्यकक्ष तयार पार्न र स्वागतका लागि तयार रहन निर्देशन दिएको थियो । 

लगत्तै मुख्यसचिव अर्यालको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यालय खोजी गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय राख्ने भनिएको गृहको नयाँ भवनमा फिनिसिङको केही काम बाँकी छ ।

त्यस्तै, ध्वस्त भएका अन्य मन्त्रालयका कामहरु कहाँबाट कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल जारी नै छ । शिक्षा मन्त्रालयको काम केशर पुस्तकालयबाट गर्ने मोटामोटी योजना बनाइएको छ ।
 

टिप्पणीहरू