ओली र देउवाको पछिल्लो अवस्थाबारे सोधखोज
सैनिक सुरक्षामा रहेका राजनैतिक दलका नेताको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो राखेको छ । सेनाको सुरक्षामा रहेकासँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।
उनका अनुसार आयोगका पदाधिकारी र प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि भेटघाट भएको छ । त्यसक्रममा बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षाबारे छलफल भएको छ ।
‘छलफलका क्रममा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
भदौ २३ र २४ गते भएको जेन जी विध्वंसपछि राजनैतिक दलका नेता, मन्त्री, कर्मचारीहरु सुरक्षाका निम्ति सैनिक ब्यारेक पुगेका थिए । तीमध्ये धेरैजसो ब्यारेकबाट छोडिएपनि निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा अझै सैनिक सुरक्षामा छन् । आयोगले जेन जी प्रतिनिधि, मृतकका परिवार, घाइतेलगायतसँग पनि निरन्तर भेटघाट गरिरहेको जनाएको छ ।
टिप्पणीहरू