मुख्यालय जलाएर बहुमूल्य सामान चोर्नेहरुबिरुद्ध एनसेलको उजुरी

मुख्यालय जलाएर बहुमूल्य सामान चोर्नेहरुबिरुद्ध एनसेलको उजुरी

एनसेलले राजधानीको लैनचौरस्थित मुख्य कार्यालयमा तोडफोड, आगजनी र डकैती गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गरेको छ। जेन–जी ध्वंशको क्रममा भदौ २४ गते भएको सो घटनाको सीसीटिभी फुटेजसहित एनसेलले प्रहरीमा उजुरी दिएको छ ।

एनसेलका अनुसार, घटनामा संलग्न व्यक्तिहरूले कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई कोठामा थुनेर तोडफोड र आगजनी गरेका थिए । त्यसैगरी, कम्पनीका सक्कल कागजात, अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र एवम् कार्यालयका अन्य महत्वपूर्ण कागजात पनि जलाइएको छ । कार्यालयको १० वटै तलामा रहेका बहुमूल्य विद्युतीय सामानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिनलगायतका सामग्री चोरी गरिएको एनसेलले जनाएको छ।

उजुरीमा लेखिएको छ, ‘यी घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाइ, डकैती गरी लगिएको सामान फिर्ता दिलाउने, साथै आगजनीबाट क्षति भएको रकमको क्षतिपूर्ति दिलाउने कार्य सुनिश्चित गरियोस्।’

एनसेलले प्रारम्भिक क्षतिको विवरण र लुटिएका सामानको सूची पनि प्रहरी परिसरमा पेश गरेको छ। वास्तविक क्षतिको विस्तृत विवरण आएपछि उपलब्ध गराउने बताएका छन्।

टिप्पणीहरू