ज्वालाले दान गरिन् ३० लिटर स्तन दूध

ज्वालाले दान गरिन् ३० लिटर स्तन दूध

भारतीय ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाले ३० लिटरभन्दा बढी स्तन दूध दान गरेकी छन् । समयअगावै जन्मिएका तथा गम्भीर अवस्थामा रहेका नवजात शिशुहरूको जीवनरक्षाका लागि भन्दै उनले दैनिक ६०० मिलिलिटर स्तन दूध दान गर्दै आएकी हुन् । 

ज्वालाले गत अप्रिलमा छोरी (मिरा)लाई जन्म दिएकी थिइन् । त्यसयता उनले गम्भीर अवस्थामा रहेका नवजात शिशुहरुको लागि भन्दै स्तन दूध दान गरेकी हुन् । उनको स्तन दूधलाई अमृतम ब्रेस्टमिल्क फाउन्डेशनले विभिन्न बाल अस्पतालमा पुर्याइरहेको छ । 

रक्तदान, अंगदानजस्ता विभिन्न सहयोग अभियान चल्दै आए पनि स्तन दूध दानको अभ्यास भने नयाँ हो । पछिल्लो समय भारतमा यो अभियानले राम्रो प्रशंसा पाएको छ । सामान्यतयाः गम्भीर रोग लागेका आमाहरुले सन्तान जन्माएको अवस्थामा दानवापत प्राप्त भएको स्तन दूध प्रयोग गरेर शिशुलाई हुर्काउने गरिन्छ ।

स्तन दूधले त्यस्ता शिशुहरुलाई बचाउँन ठूलो सहयोग पुर्याएको हुन्छ । यो अभियानले राम्रो चर्चा पाएसँगै हालमा भारतमा ९० भन्दा बढी दूध बैंक स्थापना भइसकेको छ । सन् २०२२ यता दानवापत् प्राप्त भएको स्तन दूधबाट २४ हजार भन्दा बढी शिशु लाभान्वित भएका छन् । भने, गम्भीर अवस्थामा जन्मिएका ८०५ शिशुले जीवन पाएका छन् । 

खेलाडी ज्वालाले मानवीय दायित्व पूरा गर्न अन्य आमाहरुलाई पनि स्तन दूध दान गर्न आग्रह गरेकी छन् । भनेकी छन्, ‘स्तन दूधले जीवन बचाउँछ, यदि तपाई दान गर्न सक्षम हुनुहुन्छ भने दान गर्नुहोस्, र तपार्इं त्यो परिवारको हिरो बन्न सक्नुहुन्छ ।’

टिप्पणीहरू