विध्वंसमा संलग्नलाई कारवाही गर्न माग

विध्वंसमा संलग्नलाई कारवाही गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी विध्वंशका क्रममा उद्योगहरुमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको एफएनसिसिआई टोलीले आज आगजनी र तोडफोडबाट क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया र उपेन्द्र महतोको घरको अवलोकनपछि उक्त माग राखेको हो । अध्यक्ष ढकालले आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । 

२०४६ यताका सबै आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको भन्दै उनले दु:ख व्यक्त गरे । अब आइन्दा त्यसो हुन नदिनेगरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग उनको विशेष आग्रह छ । 

राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि ढकाले स्मरण गराए ।

'सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिने कुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन', उनले भने, 'त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ ।'

महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गरेका छन् ।

टिप्पणीहरू