जेन-जी विध्वंस : निर्वाचन आयोगमा पनि ठूलै क्षति

जेन-जी विध्वंस : निर्वाचन आयोगमा पनि ठूलै क्षति

जेन-जी आन्दोलनको नाममा भएको ध्वंसात्मक घटनामा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

आयोगको बहादुर भवनस्थित केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको जनाइएको छ । केन्द्रीय सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको आयोगका सहसचिव राजेन्द्र केसीले जानकारी दिए । 

त्यस्तै, प्रदेश निर्वाचन कार्यालय मोरङमा तोडफोड र लुटपाट भएको विवरण सुनाइएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीमा आगजनी र लुटपाट हुनुका साथै मोटरसाइकल जलाइएको छ । चितवन कार्यालय भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भइ पूर्णरुपमा ध्वस्त भएको छ । 

सहसचिव केसीका अनुसार प्रदेश निर्वाचन कार्यालय कास्कीको चारपाङ्ग्रे सवारी साधन आगि लगाएर खरानी पारिएको छ भने अर्कोमा तोडफोड गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा र एउटा मोटरसाइकल तोडफोड भएको छ । 

जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको केसीले जानकारी दिए ।

टिप्पणीहरू