छ महिनामा पाँचसय टन सुन खपत, ‘सेप्टेम्बर स्वर्ण, अक्टोबर रजत’

सेप्टेम्बर महिनामा चीनका सुन प्रशोधन तथा गहना उद्योग वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा व्यस्त हुने गरेका छन् । ‘सुनौलो सेप्टेम्बर र रजत अक्टोबर’ को रुपमा परिचित यो अवधिमा परम्परागत रूपमा चिनियाँ बजारमा सुन र चाँदीको आन्तरिक खपत उच्च हुने गरेको छ ।

सन्चनको लोंगकाङ जिल्लास्थित एउटा उत्पादन केन्द्रमा कार्यरत कालीगढहरु ठूलो मात्रामा प्राप्त अर्डरबमोजिमका गहना बनाउन दिनरात व्यस्त छन् । उत्पादनमा संलग्न सबै कर्मचारी र कालीगढहरु चौबिसै घण्टा कार्यरत देखिन्छन् ।

गहना कम्पनीका महाप्रबन्धक कुओ चुनचिए भन्छन्, ‘अगस्टको मध्यदेखि नै उद्योग उच्च उपभोग सिजनमा प्रवेश गरेको छ । मेदेखि जुलाईसम्मको तुलनामा अगस्टमा अर्डर ३० देखि ५० प्रतिशतसम्म बढेको छ ।’

तर निरन्तर बढिरहेको सुनको मूल्यले प्रशोधन उद्योगलाई दबाबमा पारेको छ । मूल्य बढेकाले यसअघि हुने गरेको नाफाको अंश लगातार साँघुरिँदै गएको छ ।

उक्त चुनौतीको सामना गर्न गहना कम्पनीहरूले नयाँ उत्पादन सिरिजको तयारी गरेका छन् । जसमा उच्च मूल्यवद्र्धन, सांस्कृतिक विशेषता र उत्कृष्ट शिल्पकला समावेश हुने बताइएको छ ।

गहना कम्पनीका सहायक महाप्रबन्धक काओ फेङ भन्छन्, ‘नयाँ डिजाइनका गहना यो वर्षको अन्त्यअघि नै बजारमा आउने छ । तिनको नाफा मार्जिन सामान्य उत्पादनको तुलनामा १० देखि २० प्रतिशत बढी हुने अनुमान छ ।’

चाइना गोल्ड एसोसिएसनका अनुसार चालु वर्षको पहिलो छ महिनामा चीनको आन्तरिक बजारमा सुन उपभोग पाँचसय टनभन्दा बढी पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ३.६ प्रतिशतले कम हो ।

स्रोत : सिसिटिभी प्लस

टिप्पणीहरू