माओवादीमा जुर्मुराए जेन-जी, २५ प्रतिशत कोटा माग
नेकपा माओवादी केन्द्रको सबै तहका कमिटीमा २५ प्रतिशत जेन–जीको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
सो पार्टीमा आवद्ध (१२–२८) उमेर समूहका युवाहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग अघि सारेका हुन् । पार्टीको सबै तहका कमिटी पुनर्गठन गरी न्यूनतम २५ प्रतिशत पदमा जेन–जीको प्रतिनिधित्व अनिवार्य गर्न उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
पार्टीका सबै विभाग/संगठनहरूमा जेन जी समन्वय समिति वा विभाग गठन गर्न पनि उनीहरुको जोडदार माग छ । नेतृत्व विकास, प्रशिक्षण र मेम्बरसिप कार्यक्रम संचालन गर्दै पार्टीलाई अहिलेको आवश्यकतामा ढाल्न जोड दिएका छन् ।
आफूहरुले उठाएको यो सवाललाई केवल कोटा वा सांकेतिक समावेशीकरणका रुपमा नभई समग्र पार्टी पुननिर्माणका लागि गरिएको पहलका रुपमा बुझ्न माओवादीका जेन जी कार्यकर्ताको आग्रह छ ।
जनसंख्यागत सन्तुलन, राजनीतिक उत्तराधिकार, नवीन सोच, संगठन सुदृढीकरण, डिजिटल र नवप्रवर्तनजस्ता कुरालाई आधार बनाएर यो माग उठाएको उनीहरुले स्पष्ट पारेका छन् । आगामी विधान महाधिवेशन वा विशेष महाधिवेशनबाट विधान संशोधन गरी आरक्षण सुनिस्चित गर्न भनिएको छ ।

टिप्पणीहरू