महेश बस्नेतले जलेको घरलाई म्युजियम बनाउने
नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो जलेको घरलाई सङ्ग्रहालय (म्युजियम) को रूपमा संरक्षण गरेर राख्ने बताएका छन् ।
जेन-जी आन्दोलनको नाममा भदौ २४ गते जलाइएको घरलाई ध्वंसात्मक सङ्ग्रहालयको रूपमा स्थापित गर्न उनले आजफेसबुक बाट जानकारी दिएका हुन् । आफ्नो घर जलाउन आवश्यक थियो कि थिएन भनेर सबैले समीक्षा गरुन् भन्ने हिसाबले यसो गर्न लागेको बस्नेतको भनाइ छ ।
'मेरो जलेको घर लामो समयसम्म ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्नेछु,' उनले लेखेका छन्, 'मेरो घर हेरेर सबैले समीक्षा गरुन् त्यो घर जलाउन आवश्यक हो कि होइन ?'
सांसद हुँदा भक्तपुरको चामत्कारिक विकास गरेको दाबी बस्नेतको छ । आफूले औधोगिक क्षेत्रको विकासमा ऐतिहासिक काम गरेको जिकिर गर्दै उनले सारा जीवन जनताको निम्ति समर्पण गरेको बताए ।
'सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास, उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेँ', बस्नेत भन्छन्, 'मेरो सारा जीवन मैले जनताको निम्ति समर्पण गरेँ । यही गरेबापत मेरो घर जलाइन्छ मलाई बदनाम गरी मार्ने प्रयास गरिन्छ !'
उनले आफ्नो परिवारका सदस्यलाई जिउँदै जलाउने प्रयत्न गरिएको र निर्दोष छोराछोरीलाई समाजमा हिँड्न गाह्रो बनाइएको भन्दै दु:खमनाउ गरेका छन् । तर, यस्ता घटनाबाट आफू नडराउने बताउँदै बस्नेतले आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने दाबी गरे ।
टिप्पणीहरू