रास्वपालाई एकपछि अर्को आपत्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालय रहेको भवन तीन महिनाभित्र खाली गर्न घरधनी भरतमणि देवकोटाले जानकारी दिएका छन्। हाल अमेरिकामा रहेका देवकोटाले रास्वपाको केन्द्रीय सचिवालयलाई उतैबाट भवन खाली गर्न निर्देशन दिएको बताइन्छ ।
मासिक तीन लाख ५० हजार रुपैयाँ भाडाको सम्झौता भए पनि विगत १० महिनादेखि भाडा नपाएपछि देवकोटाले भवन खाली गर्न आग्रह गरेका हुन् । घरधनी स्वयं पार्टीको अनुशासन आयोगका अध्यक्ष थिए । पार्टी सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार नियुक्त भएका थिए ।
उनी अमेरिका गएपछि पार्टीले अनुशासन आयोगका कार्यवाहक तोकेको छ । तर पार्टीमा आवद्ध हुनु र भाडा भुक्तानी गर्ने विषय फरक रहेको जनाउँदै तीन महिनाभित्र बाँकी पैसा बुझाएर भवन खाली गर्न भनिएको छ । देवकोटाका अनुसार रास्वपाले ३५ लाख रुपौयँ बुझाउनै पर्ने र नयाँ भवन खोज्नैपर्ने अवस्था उत्पन्न भएको छ ।
साथै, पछिल्लो समय पार्टीको साख पनि अधोगतिमा धकेलिएको छ । जेन जी विध्वंसको क्रममा रास्वपा भीडले लामिछानेलाई नख्खु कारागारबाट छुटाएपछि पार्टीमा विवाद चर्किएको हो। लामिछानेले दाबी गरेको सरकारी पत्र नक्कली सावित भएपछि पार्टीकै नेताहरुबीच द्वन्द्व बढेको छ । केही नेताले लामिछाने लिन दलबलसहित कारागार पुगेका मनिष झा, हरि ढकाललगायतमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, भदौ २४ गते अराजक भीडलले संसद भवनमा आगो लगाएको बेलामा पार्टी नेतृ तोसिमा कार्कीले ‘यो हाम्रो एजेन्डा हो’ भन्दै भीड उक्साएको घटनालाई धेरैले गम्भीर भनेका छन् । एउटी सांसदले व्यक्त गरेको उक्त धारणाले पनि रास्वपा माथि थप प्रश्न उठाएको छ।
पार्टीभित्र प्रश्न उठाउँदा उल्टो मिडिया ट्रायलको आरोप लागेपछि पूर्व शिक्षामन्त्री तथा नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। त्यसपछि सुमनाको सिको अरुले गर्ने सम्भावना बढेको बताइन्छ ।
निष्काशित महामन्त्री मुकुल ढकाल, पूर्व सांसद निशा डाँगी पनि विभिन्न आरोपमा मुछिँदै आएका छन् । सभापति सहकारी ठगीको आरोपमा जेलमा रहेको अवस्था, पार्टीभित्र विभिन्न समस्याले गाँजेको स्थितिमा रास्वपालाई तीन महिनाभित्र मुख्यालय सार्नुपर्ने अर्को आपत आइलागेको हो ।
टिप्पणीहरू