हो, हामी सितिमिति कहिल्यै सुध्रिँदैनौँ
अवस्था कहाँदेखि कहाँ पुगिसक्यो तर नेतृत्वको सोच र वासनामा भने खासै परिवर्तन आएको छैन । शक्तिको वासना जब सर्वोच्च हुन्छ, शासकहरू वास्तविक संकटको आवाज सुनिहाल्दैनन् । शासक निकम्मा हुँदा देश घायल हुन्छ, इतिहास पीडा बोकेर उठ्न विवश हुन्छ ।
भदौ २३ र २४ गतेको घटनाले सत्ता दरबारमा नभई अन्यत्र छ भन्ने चेतना गरायो । नेतृत्वको औकात प्रष्टियो । एकै दिनमा ‘काजी’ बनेका पात्रहरू ‘पाजी’ मा फेरिए । दुई हप्ता बितिसक्दा धेरै कुरा सतहमा देखिए—तर राजनीतिक दलको भूमिका, नेताको चरित्र र लम्पट कार्यकर्ताको मानसिकता भने पुरानै रह्यो, मानौँ उनीहरूको दैवीमन्त्र हो—‘हम नहीँ सुधरेंगे ।’ जुन आन्दोलनले स्थापित शक्तिलाई लज्जाबोधसम्म गराउन सकेन त्यसलाई कसरी मूल्यांकन गर्ने ! जेनजेडले रोजेका ७ मन्त्री बने, त्यसमध्ये धेरै टेष्टेड छन् ।
यो प्रायोजित सरकार नियाल्दा अहिले रामायणको एउटा कथा सम्झिरहेको छुः जलिसकेको सुनको लंकाको खरानी दरबारमा वंशविनाशक रामका प्यादा नवराजा विभिषण गजधम्म बसेका थिए । अनुहारमा कुनै कान्ति थिएन । गम्भीर भारदारहरू मन्त्री बनिरहेका थिएनन् । मन्त्री खोज्न हैरान भएका महाराजसँगै नवपटरानी सारीमा थिइन् । अवसर कुम्भकर्णका छोराको पास्नी थियो । कुम्भकर्णकी विधवा पत्नी बज्रज्वाला काखमा छोरो लिएर पुगेकी थिइन् । दरबारमा एकाएक सन्नाटा छायो । आशीर्वाद उनैबाट शुरु भयो । बज्रज्वालाले भनिन्, ‘तिमी हलक्क बढ, लंकाली स्वाभिमान चिन, अनि बाउ कुम्भकर्ण र महाराज लंकाधिपति रावणजस्तै बन ।’
इराक र लिबियामा सद्दाम हुसेन र कद्दाफीविरुद्धको आन्दोलनले पुराना शासकलाई त ढाल्यो तर त्यसपछि के भयो ? बंगलादेशले पनि चेतावनी दिएको छ ।
रिसले मुर्मुरिएकी नवपटरानी चिच्याउँदै भन्न थालिन्, ‘दिनु नै थियो भने राम्रो आशीर्वाद दिएको भए हुन्थ्यो, किन ती पापीको जस्तो दिने ? बज्रज्वालाको जवाफ रह्यो, देशलाई खरानी बनाएर श्रीपेच ढल्काउन दुश्मनको हुकुम तामेल गर्ने राष्ट्रघातीभन्दा देशका लागि, वंशका लागि, स्वाभिमानका लागि, लंकाको गौरवका लागि हाँसीहाँसी युद्धभूमिमा वीरगति पाउने नवजात शिशुको बा र ठूलो बुवाझैँ बन्नु । ठूलो भएर चाकरहरूलाई थुक्न र ध्वस्त गर्न सकोस् । म लंकिनी हुँ, शिशु लंकापुत्र सिंहल हो । सुनो अयोध्यावालो, रामका चाकरहरू र खरानीकी पटरानी पनि सुन– लंकालाई खरानी बनाउन सक्छौ, अवोधलाई अल्मल्याउन पनि सक्छौ, अपराधीहरूका कुकृत्यमा टेकेर लंकालीलाई भावनामा फेर्दै चाकर बनाउन सक्छौ । अवोधहरू कार्य, कारणले ल्याउने प्रभाव र इतिहासमा लाग्ने दाग बुझ्न सक्दैनन् । पवित्र सोच राखेर मात्रै हुँदैन, हरेक कामको परिणाम आकलन गर्नु अत्यन्तै मुश्किल काम हो ।’
असरानी र हाम्रो राजनीति
कुरा पुराना पार्टी र व्यावसायिक राजनीतिक कार्यकर्ताको हो । सन् १९८० मा प्रदर्शित ‘हम नहीँ सुधरेंगे’ फिल्ममा असरानीले निरन्तर गल्ती गर्ने, अपराधमा फस्ने तर कहिल्यै सुध्रिन नसक्ने पात्रको भूमिका निर्वाह गरेका थिए । त्यो भूमिकाले हल्का व्यंग्यमार्फत देखाउँथ्यो— कोही–कोही स्वभावको दास यस्तो बनेको हुन्छ कि ऊ सुध्रिनै चाहँदैन ।
आजको नेपाली राजनीति त्यसकै प्रतिरूपजस्तो लाग्छ । असरानीजस्तै शक्ति र स्वत्वमा बारम्बार झापड खाए पनि हाम्रा नेता आत्मसमीक्षा गर्न अझै तयार छैनन् । परिस्थितिले नयाँ बाटो खोज्न बाध्य पार्दा पनि दलहरूले गम्भीर समीक्षा गर्ने नैतिक बल हराइसकेका छन् । नेतृत्वको अहंकार, विचारशून्यता, दया र चाकरीमा हुर्केका अनुयायी कार्यकर्ता पनि देवत्वकरणको संस्कृतिका कारण राजनीतिक चरित्र, आत्मबल र स्वाभिमान सकिएर आफ्नो अक्षमता छोप्न मात्र व्यस्त रहे । असरानीजस्तै, गल्तीको पुनरावृत्ति भयो तर आत्मज्ञान कहिल्यै आएन ।
जेनजेडको आवेग र अधुरो विद्रोह
जेनजेड आन्दोलन विद्रोह थियो ? आवेग मात्र थियो ? वा कसैको खेल ? यसबारे ठोस निश्कर्ष निकाल्नु सजिलो छैन तर यथार्थ के हो भने प्रत्येक घटनाको पछाडि कारण हुन्छन्, ती कारण कारक बन्छन्, अनि मात्रै परिणाम प्रष्ट हुन्छ । नियतको वास्तविकता परिणामले देखाउँछ । रहस्यका पर्दा क्रमशः खुल्दैछन् । लोकप्रिय आन्दोलनले स्थापित सत्ता ढाल्न सके पनि नयाँ निर्माण गर्न विचार र संगठन नभएकाले, अधुरा क्रान्तिजस्तै परिणाम अनिश्चित हुन्छ । परालको आगो क्षणिक हुन्छ— मुढाजस्तो भर्भराउँदो रहिरहँदैन ।
यही कारण विश्वका धेरै जेनजेड आन्दोलन अधुरा बने । इराक र लिबियामा सद्दाम हुसेन र कद्दाफीविरुद्धको आन्दोलनले पुराना शासकलाई त ढाल्यो तर त्यसपछि के भयो ? त्यो पीडा इराकी र लिबियाली जनताले पछि मात्र बुझे । भर्खरै बंगलादेशमा भएको ‘जनआन्दोलन’ले पनि यही चेतावनी दिएको छ– आवेगमा विवेक गुम्दा आन्दोलन अरूले हाइज्याक गर्न सक्छन् । लेखकले भनेको भन्दा पनि भन्न खोजेको स्पष्ट छ ।
संविधान र सत्ता–संरचनाको संकट
आजको संकट ०६२/६३ को आन्दोलनपछि जन्मिएको संविधानकै बाइप्रोडक्ट हो । यसले लोकतन्त्रलाई क्रमशः क्लेप्टोक्रेसीमा रूपान्तरण गर्यो । शक्तिको केन्द्रीकरण बालुवाटार पुग्यो, न्यायपालिका र अर्धन्यायिक निकायले मौलिक चरित्र कायम गर्न सकेनन् । संसद, पार्टी नेतृत्व र सत्ताको दलालीमै सीमित भए । नेताहरू देवता भए, कार्यकर्ता भक्तराम । यसरी राजनीतिक रिक्तता जन्मियो । रिक्तता कहीँ रहँदैनथ्यो । त्यसलाई जेनजेडको आँधीबेहरीले भर्यो । यही रिक्तता र अहंकारको घडीमा जनआक्रोशले वाणी पाएर आक्रोशमा फेरियो । यो सामान्य झापड त थिएन तर सत्ता चरित्रको फेरबदल गर्न पनि सकेन । तर, चेत नफेर्ने नेतृत्वलाई घाइते पारेर इतिहासमा दाग भने पक्का छोड्नेछ । इतिहास अत्यन्तै निर्मम छ । नायकले नायकत्व धान्न सकेन भने ऊ पत्रु र खलनायक बन्न बाध्य हुन्छ ।
अधुरा क्रान्तिको नियति सधैँ एउटै हुन्छ— अपराधीलाई दण्ड हुँदैन । मार्ने र मर्ने दुवैलाई शहीदको उपाधि दिइन्छ । राज्यले क्षतिपूर्ति बाँड्छ । के क्रान्ति वा शहीदको क्षतिपूर्ति कहिले र कहीँ भएको हुन्छ ? गर्न सकिन्छ ? शहीद र भाडाका सेना उस्तै हुन् । सडकमा युवाको रगत बग्छ, चोकमा नारा गुञ्जिन्छ तर समय बित्दै जाँदा आवेग हराउँछ । घाउमा पाप्रा बस्छ तर दाग पुस्तौँ रहिरहन्छ । आन्दोलनकारीका नारा धुलोमा हराउँछन्, उनीहरू समयसँगै सेलाउँदै गएर आफ्नै निजी पीरमर्कामा हराउँछन् । पर्दापछाडिको राजनीतिले भने भिन्नै कथा लेख्छ— लोकप्रिय आन्दोलनलाई प्रायोजित गर्ने, नयाँ न्यारेटिभ बनाउने तर सत्ताको संरचना यथावत् राख्ने । त्यसैले पुराना अनुहार पुनः नायकको भेषमा फर्किन्छन्, कार्यकर्ताले फेरि काँध थाप्छन्, सत्ता फेरि सामान्यतया यथावत् रहन्छ ।
यसैले अधुरा क्रान्तिका कथा कहिल्यै अन्त्य हुँदैनन् । प्रश्न भने सधैं बाँकी रहन्छन्— हामी किन बारम्बार जल्छौं ? किन त्यही गल्ती दोहोर्याउँछौं ? किन सधैं सुधारिने आशा पाल्छौं ? तर जवाफ फेरि एउटै आउँछ—हो, हामी कहिल्यै सुध्रिँदैनौं । नायकको खोजीमा आवेगबाट रन्थिनिएर विवेक बन्धकी राख्ने नियतिले धकेल्छ, हरेक युगका जेनजेड पुस्तालाई । तर आन्दोलनले भने इतिहासमा पदचिन्ह छोड्रै अगाडि बढिरहेको हुन्छ ।
अब हुन्छ के ?
हरेक आन्दोलन ठूलो महत्वाकांक्षा बोकेर उठ्छ । तर, जब परिणाम अधुरो रहन्छ, प्रायोजकहरू पछि हट्छन् । विश्व राजनीति बदलिँदै गर्दा नेपालजस्तो सानो मुलुकको भूमिका अझ खुम्चिन्छ । नयाँ सरकारलाई औचित्य पुष्टि गर्ने ठूलो दबाब छ । उसलाई जनचाहना संवोधन गर्ने केही नयाँ काम तुरुन्तै गरेर देखाउनुपर्ने हुन्छ । उसलाई नयाँ निर्णय गर्ने स्पष्ट संवैधानिक अधिकार छैन । तर कर्मचारीतन्त्रले स्वामीभक्ति फेरेर नयाँ शक्तिप्रति भक्तिभाव देखाउने छन् । यस क्रममा अख्तियार र सम्पत्ति शुद्धीकरणलाई सशक्त भूमिकामा उतारिनेछ ।
प्रेम राई स्वयंले दबाएर राखेका फाइलहरू— ललिता निवास, भुटानी शरणार्थी, भिजिट भिसा, सहकारी र गिरीबन्धु टि–इस्टेटलगायत २० वर्षका मुद्दाहरू पुनर्जीवित हुनेछन् । यी मुद्दामार्फत यस अवधिका नेताहरूलाई कानुनकै कठघरामा उभ्याउन सकिनेछ । पार्टी कार्यकर्ताबाट न्यायाधीश बनेकाहरू पनि अन्ततः न्यायिक भूमिकामा उत्रिन विवश हुनेछन् । नत्र, जनताको कोपभाजनमा पर्नुपर्ने डरले भयग्रस्त हुने छन् । मरेको जीवलाई पहिला उपियाँले छोडछ र जहाज डुब्दा पहिला मुसा हामफाल्छन् ।
राजनीतिक दलसँग विचार परिमार्जन र ठोस गर्ने, विचारअनुसारको संगठन तयार गर्ने र नयाँ पुस्तालाई शक्ति हस्तान्तरण गर्ने यो ठूलो अवसर हो । तर पुरानो नेतृत्व आफ्ना गल्ती र अपराधको भयले त्यो अवसर दिने अवस्थामा भने छैन । बरु नयाँ न्यारेटिभ गढेर आफूलाई बचाउने छ । चाकरीबाज कार्यकर्ताहरूले अझै पनि पुरानो नेतृत्वलाई सौन्दर्यकरण गर्नेछन् ।
आन्दोलनको ताप शान्त भइसकेपछि दलहरूले फेरि नयाँ न्यारेटिभ गढ्नेछन् । तर लोकतन्त्रलाई क्लेप्टोक्रेसीमा रूपान्तरण गर्ने राजनीतिक संस्कृति भने पुरानै रहनेछ । संगठन केन्द्रिकरण गर्न नयाँ अभ्यासभन्दा आगामी चुनावमा भावना केन्द्रित गरिएर टिकट पाउन होडबाजी चल्नेछ ।
वषौंदेखि हामी ‘सुध्रिँदैनौं’ भन्ने पार्टी र नेतृत्वको निश्कर्षमा रहेपनि इतिहासको धारा कहिल्यै स्थिर हुँदैन । हरेक अधुरा क्रान्तिले कम्तीमा एक कुरा गर्छ—सत्ता र समाजलाई घच्घच्याउँछ, मस्त निद्रामा निदाउन दिँदैन । सडकमा बगेको रगत व्यर्थ हुँदैन, समीक्षित भएर त्यो नयाँ पुस्ताको चेतनामा अमिट छापको रूपमा बस्छ । पुराना अनुहारहरूले फेरि मुखुण्डो हालेर आउँदा पनि, कहिल्यै नदेखिएको नयाँ पुस्ता उदाउँछन् ।
हामी बारम्बार असफल भयौँ, बारम्बार अधुरा रह्यौँ । तर हरेक असफलता भित्रै भविष्यका सम्भावनाको बीउ लुकेको हुन्छ । जुन दिन त्यो बीउले अंकुरण गर्छ, त्यस दिन हाम्रो उत्तर फेरिन सक्छ । सायद त्यही कारणले—आशा भने बाँकी छ । असफलता भित्रै भविष्यको सम्भावना लुकेका हुन्छन् । कुनै दिन त्यो बीउ अंकुरण गर्छ, अनि उत्तर फेरिन्छ । हो, हामी अहिले सुध्रिएका छैनौँ । इतिहासले सुधार्न अझै बाँकी छ । आशा त्यहीँ छ ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू