हाकिमद्वारा सरकारी गाडी कब्जा !
जेन जी ध्वंसमा अराजक युवाहरूले देशभर हजारौँ सरकारी सवारीसाधन आगजनीबाट खरानी पारे । अहिले विभिन्न सरकारी कार्यालयलाई सवारीसाधनको अभाव देखिएको छ । तर सोही अवसरलाई उपयोग गर्दै एक उच्च सरकारी कर्मचारीले भने सरकारी गाडी कब्जा गरेको खुलासा भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कार्यालयको नाममा प्रयोग हुँदै आएको गाडीको नम्बरप्लेट परिवर्तन गरी निजी प्रयोगमा ल्याइएको खुलेको छ ।
जानकारीअनुसार यादवले बागमती प्रदेश–०१–००२–झ–७३१० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । तर जेन जी प्रदर्शनपछि उक्त गाडीको नम्बरप्लेट परिवर्तन गरेर बा–११–च–४५०१ राखिएको छ ।
स्रोतका अनुसार हजारौँ सरकारी गाडी ध्वस्त भइरहेका बेला यादवले अवसर छोप्दै कार्यालयकै गाडीमा निजी नम्बरप्लेट जडान गरेका हुन् । विभागका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. मुनकर्ण थापाले भने भदौपछि कार्यालयमै नदेखिएको बताए ।
‘जेनजी प्रदर्शनपछि मैले त्यो गाडी कार्यालयमा देखेको छैन,’ उनले जनआस्थासँग भने, ‘नम्बरप्लेट परिवर्तन भएपछि आउन छोडेको हो कि भन्ने शंका छ, मैले पनि स्पष्ट बुझ्न पाएको छैन ।’
थापाका अनुसार विभागसँग दुईवटा गाडी भए पनि हाल कार्यालयमा एउटा मात्र देखिन्छ । बाँकी गाडी पनि यादवले चितवन लगेका छन् । ‘७३१० नम्बरको गाडी देखिएको छैन, अर्को गाडी सर (यादव)ले नै चितवन लग्नुभएको हो,’ उनले स्पष्ट पारे ।
थापाको भनाइलाई आधार मान्दा यादवले विभागका दुवै गाडी कब्जा गरेको देखिन्छ । यसबारे बुझ्न जनआस्थाले यादवलाई सम्पर्कको प्रयास गरे पनि उनी उपलब्ध हुन सकेनन् ।
टिप्पणीहरू