भित्रबाट चलाइएको गोली कसरी पुग्यो चोकमा ?
जेन जी ध्वंसको क्रममा घाइतेहरूको शरीरबाट सुरक्षाकर्मीले चलाएको गोलीभन्दा फरक प्रकारको गोली भेटिएको विषय सार्वजनिक भइसकेको छ।
प्रहरीको प्रारम्भिक तथ्याङ्कअनुसार भदौ २३ र २४ को दुई दिनमा धातुको गोली दुई हजार ६४२, रबर बुलेट एक हजार ८८४, ब्ल्यांक फायर दुई हजार ३७७ र अश्रुग्यास छ हजार ७७९ प्रहार गरिएको थियो। तर घटनास्थलमा भेटिएका र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शरीरबाट निकालिएका केही गोली प्रहरीले चलाएको गोलीभन्दा फरक प्रकारका भेटिएका छन्। यस विषयमा चर्चा चलिरहेको बेला तीमध्ये एक घाइतेले घटनाबारे आफ्नो बयान सार्वजनिक गरेका छन्। उनी रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् घटनाबारे विस्तृत जानकारी दिएका थिए।
वक्ताकाअनुसार, उनलाई भदौ २३ गते दिउँसो करिब साढे १२ बजे गोली लागेको थियो। ‘म सिभिल हस्पिटल हुँदै स्ट्याण्डर्ड चार्टर्ड बैंकको गेटमा पुगेको थिएँ,’ उनले भने। ‘त्यहीबेला मेरो औंला र कम्मरमा गोली लागेको थियो। त्यही गोली नजिकै रहेको अर्को व्यक्तिलाई पनि लागेको थियो—उसको त तिघ्रा नै छुट्यो।’
घाइतेले बताएअनुसार, उनी स्ट्याण्डर्ड चार्टर्डको गेट (नयाँ बानेश्वर चोकमै) मा रहेको बेला गोली लागेको थियो। तर संसद भवनको गेटभित्रबाट गोली चल्न सुरु भएको थियो, बाहिरी परिसरबाट भने गोली चलिएको थिएन। संसदभित्रबाट चलेको गोली चोकमा कसरी पुग्यो भन्ने कुरा घाइतेलाई पनि थाहा छैन। ‘संसदभित्रबाट चलेको गोली मेरो यहाँ (ब्यान्डेज गरिएको घाउ देखाउँदै) लाग्न सम्भव थिएन। एङ्गल मिलाउँदा सम्भव हुन्थ्यो भने त मेरो हेड सुट नै हुन्थ्यो,’ उनले भने। ‘भीडमा भित्रबाट चलेको गोली मलाई लाग्न सम्भव थिएन—गोली त सिधै जाने हो, घुमेर आउँदैन।’
घाइतेले आफूलाई दुई वटा गोली लागेको र ती गोली संसद भवनभन्दा बाहिरबाट चलाइएको हुन सक्ने अनुमान व्यक्त गरे। उनी भन्छन्, ‘पूर्वबाट चलाएको गोली पश्चिमतर्फ जान्छ, तर त्यो गोली घुमेर दक्षिणतर्फ जाने छैन। यो कसैको इरादा थियो—सरकारको हो वा अरूको, थाहा छैन।’
घाइतेले विश्लेषण गर्दै भनेका छन् कि उक्त दिन कुनै पार्टीका व्यक्ति वा साप–शूटरले गोली चलाएको हुनसक्ने शंका छ। ‘भित्रबाट चलेको गोली सिधै सिभिल हस्पिटलतर्फ जान्छ, तर मलाई चोकमा लागेको छ—अब बाहिरबाट कसले गोली चलायो? कुनै पार्टीका व्यक्ति थिए कि? कोही विदेशी नागरिक थिए कि? वा कुनै साप–शूटरले सुट गरेको हो?’
उनले दुईवटा विषयमा गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग समेत राखेका छन्। ‘पहिलो कुरा, त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले गोली चलाउन आदेश दिनु भएको थिएन भने आदेश कसले दियो? त्यसको अनुसन्धान गरेर कारबाही हुनुपर्छ,’ उनले भने। ‘वा कुनै देशले यहाँ चलखेल गर्ने प्रयास गरिरहेको छ र देशभित्रका मान्छेहरूले सहयोग गरिरहेका हुनसक्छन्—बाहिरबाट गोली चलाउनेहरू को थिए? त्यसको पनि छानबिन गरेर कारबाही हुनुपर्छ।’
टिप्पणीहरू