आरजूको राजीनामापछि युलेन्सको नयाँ रोडम्याप
युलेन्स स्कुल व्यवस्थापन समितिका अध्यक्ष आरजु राणाको राजीनामापछि विद्यालयले नयाँ रोडम्यापसहितको योजना अघि सारेको छ । युलेन्सले अब ट्रस्टी चयनको प्रणालीलाई अभिभावकमै केन्द्रित गर्ने बताएको छ ।
सुरुका १५ वर्ष संस्थापक ट्रस्टीमार्फत विद्यालय सञ्चालन झैँ अब अभिभावक ट्रस्टी चयन गर्ने, त्यसपछि पूर्वविद्यार्थी (अल्मुनाइ) बाट ट्रस्टी ल्याउने रणनीति बनाइएको हो ।
२४ भदौको जेनजी ध्वंसमा विद्यालयमा भएको व्यापक तोडफोड र आगजनीबाट भौतिक संरचना खरानी बनाइएको छ । विद्यालय सञ्चालन चुनौतीपूर्ण बनेपछि नयाँ स्वरूपमा अघि बढाउन अभिभावक र विद्यालय प्रशासनबीच सहकार्यको खाका कोरिएको जनाइएको छ ।
विद्यालयले हाल अनलाइनमार्फत कक्षा सञ्चालन भइरहेको जनाएको छ । दशैंपछि कक्षा १० देखि १२ र आइबीका कक्षाहरू प्रत्यक्ष रूपमा सुरु गरिने छ । अन्य कक्षाहरू पनि जाडो महिनासम्ममा सञ्चालन गर्ने विद्यालयको तयारी छ ।
युलेन्स एजुकेसन फाउन्डेसनले विद्यालयलाई अफवाह र दुष्प्रचारबाट जोगाउँदै सकारात्मक शिक्षण वातावरण पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
टिप्पणीहरू