बाहिर व्यापक सुरक्षा, घरभित्र मार्न खोजिएको चर्चा
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते आफूलाई बालुवाटारमै मार्ने योजना बुनिएको दाबी गरेका छन् । त्यहाँबाट निस्कँदा केही क्षण ढिलो भएको भए सिध्याउने खेलको पछि चाल पाएको बताए ।
ओलीले भक्तपुरको गुन्डूस्थित नयाँ निवास पुगेको एमाले निकट आदिवासी जनजाति नेताहरूसँग भदौ २४ गतेको अवस्थाबारे बताएका हुन् । त्यो दिन सुरक्षाकर्मीहरुको सहयोगले आफ्नो जीवन जोगिएको उनको भनाई छ ।
ओलीले गम्भीर षड्यन्त्रविरुद्ध उच्च मनोबल कायम राख्न आह्वान गर्दै एकजुट भएर सामना गर्न सुझाएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले आदिवासी समुदाय ओलीसँग एकजुट रहेको बताउँदै आवश्यक भए साथ दिन तयार रहेको धारणा व्यक्त गरेको बताइन्छ ।
आजै मध्यान्ह गुन्डूमा एमाले युवा संघले आयोजना गरेको दशैं तिहार चियापान कार्यक्रममा ओली सहभागी हुने भएपछि बिहानैदेखि सुरक्षा कडा बनाइएको छ । भक्तपुरका साथै काठमाडौं र ललितपुरबाट समेत थप सुरक्षाकर्मीहरु त्यहा लगिएको छ ।
टिप्पणीहरू