एकपछि अर्को शंकाको फेहरिस्त

एकपछि अर्को शंकाको फेहरिस्त

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहमाथि वाह्य शक्तिको उक्साहटमा जेन–जी आन्दोलन ‘हाइज्याक’ गरेर मुलुकलाई थप संकटमा धकेलेको गम्भीर आरोप लागेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भदौ २२ गते उनले भारतीय जर्नेलसँग सुटुक्क भेट गरेको, सोही दिन युवालाई प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेका उनी प्रदर्शनपछि जेन–जी प्रतिनिधिलाई सामाजिक सञ्जालबाट प्रधानसेनापतिसँग मात्रै वार्ता गर्न सुझाव दिएका थिए ।

सामाजिक सञ्जालबाट संसद् विघटनको माग गर्ने, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गर्ने, २४ गते बिहान सिनामंगलस्थित निवासमा कार्की, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललगायत अन्य दुई जना परिचय नखुलेका व्यक्तिसँग गरिएको गोप्य भेटघाटले उनको भूमिका एकपछि अर्को शंकास्पद देखिएको हो ।

भदौ २४ गते संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबारको मूल भवन र अन्य मन्त्रालयहरु, सर्वोच्च अदालत, जिल्ला र विशेष अदालतलगायत सरकारी कार्यालयमा आगो दन्किँदा महानगरपालिकाले दमकल पठाउने कुनै आवश्यकता देखेन । धेरैको बुझाइमा दोस्रो दिन साँझसम्म दमकल पठाइएको भए ती भवनलाई थप क्षति हुनबाट जोगाउन सकिन्थ्यो ।

यसअघि सहर फोहर पारेको भन्दै राजनीतिक दलहरुलाई जरिवाना तिराएका मेयर साह यसपटक भने अचम्मसँग मौन बसेपछि उनको आलोचना चुलिएको छ । राजधानी जलिरहँदा महानगरका सुरक्षाकर्मीहरूले आगजनी र तोडफोडमा संलग्न अराजक समूहलाई मिनरल वाटरको बोतल बाँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । 

आलोचकहरूका अनुसार, मेयरले आगजनी र तोडफोड नगर्न फेसबुक स्टाटस वा तत्काल दमकल पठाएर क्षति कम गर्न सक्थे तर त्यसो गरेनन्, गर्न चाहेनन् । बरु आन्दोलन सफल भएको भन्दै हर्ष व्यक्त गर्नतिर लागे । भोलिपल्टदेखि जेन–जीका अमुक प्रतिनिधिलाई प्रधानसेनापतिसँग वार्ता गर्न सुझाव दिँदै पन्छिन खोजे ।

यी घटनाक्रमले मुलुकलाई खरानी बनाउने खेलमा मेयर बालेनको एकथरीले प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन् । अर्काथरीले उक्त खेलमा उनको कम्तीमा मौन सहमति रहेको पाइएकोले गम्भीर योजनाको आशंका गरेका हुन् ।
 

टिप्पणीहरू