दुर्गम गाउँमा सामाजिक प्रेमको अनुपम नमूना
स्राेत: सामाजिक सञ्जाल
विकट जिल्ला बाजुराका एक युवाले नेपाली सेनामा नाम निकालेपछि सिंगो गाउँ नै खुशी भएको छ । हिमाली गाउँपालिका–३ का मेगधन रोकायाले सिपाहीमा नाम निकालेपछि पूरै गाउँले बाजागाजा बजाएर हर्षोल्लास मनाएको छ ।
वडाबासीले हिजो उनको भव्य स्वागत गरेका थिए । फूल र पैसाको माला, अबिर लगाएर उनलाई स्थानीयले सम्मान गरेका हुन् । उनको वडा नम्बर–३ मा अहिलेसम्म मोबाइलको नेटवर्क पुगेको छैन । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकताबाट त्यहाँका स्थानीय वञ्चित छन् ।
जीविकोपार्जनका लागि अधिकांश स्थानीय भारतमा मजदुरी गर्न जान्छन् । यस्तोमा दुर्गम भेगका एउटा युवाले सरकारी जागिरमा नाम निकाल्नु चानचुने कुरो होइन । उनी अरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् ।
यता, एउटाको प्रगतिमा सिंगो गाउँ नै खुशी भएको विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता नन्दा थापाले वडाबासीको सामूहिकताको तारिफ गरेकी छन् । लेखेकी छन्,‘आहा ! तब पो समाजमा संस्कार, सामूहिकता, मितव्ययिता भाव, सम्मान, समझदारी र आफन्तपन हुन्छ ।’
टिप्पणीहरू