रास्वपा एउटै रटानमा
जेन जी ध्वंसको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि पार्टीको साख क्रमशः गिर्दाे अवस्थामा छ । पार्टीकै नेताहरुले लामिछानेको हर्कतप्रति लज्जाबोध व्यक्त गर्दै प्रश्न उठाइरहेका छन् ।
यसैबीच भदौ २४ गते लामिछाने नख्खु कारागारबाट हात हल्लाउँदै निस्कने अवस्था कसरी आयो त ? जिज्ञासा पैदा भइरहेको बेला पार्टीका प्रवक्ता मनिष झा भन्छन्, ‘भीडले जान नदिएपछि सभापतिज्यूले हात हल्लाउनै पर्ने अवस्था आयो ।’
झाको दाबीलाई आधार मान्ने हो भने प्रदर्शनको दोस्रो दिन बिहानै विभिन्न नेताको घरमा आगजनी भएको र प्रहरी कार्यालय तथा कारागारमा समेत तोडफोड सुरु भएको खबर सार्वजनिक भएपछि नख्खु प्रशासनले साढे १० बजेतिर लामिछानेको परिवारलाई सम्पर्क गरेको थियो । ‘यहाँ असुक्षित हुने भयो, आएर रविजीलाई लानुस्, केही दिन घरमै सुरक्षित भएर बस्नुहुन्छ, भन्ने कल आएको थियो’, झाले जनआस्थासँग भने, ‘त्यो दिन बाटो पुरै ब्लक भएको कारण परिवार नख्खु पुग्नजोखिमपूर्ण थियो, त्यसैले हामीले पार्टीकै साथीहरु गयौँ।’
दिउँसो साढे एक बजेतिर कारागारबाहिर चार हजारभन्दा बढी युवाहरुले लामिछानेको पक्षमा नाराबाजी गरेको झाको जिकिर छ । ‘सभापतिज्यू सुटुक्क निस्कन सक्नुहुन्थ्यो, तर त्यो वातावरण नै थिएन, नजिकैको रेष्टुरेण्टमा गएर पछाडिबाट निस्कन पनि खोज्नुभएको हो, तर त्यहाँ पनि बाटो रहेनछ’, लामिछानेलाई छुटाउन कारागारमै पुगेका झाले अघि भने, ‘केही सिप नलागेपछि भीड छिचोल्दै जानुपर्यो, भीडले सभापतिको नाममा नाराबाजी गरिरहेका थिए, त्यो बेला उहाँले पनि हात हल्लाउनुभएको हो ।’
प्रवक्ता झाले देशभरका कैदी लामिछाने निस्किएपछि भागेको भनेर गलत प्रचार गरिएको पनि बताए । ‘सभापतिज्यू निस्किदा करिब साँझको ५ बजिसकेको थियो, तर कतिपय कारागारका कैदीहरु त्यो भन्दा पहिल्यै भागेका थिए, अनर्गल प्रचार गरियो’, उनले थपे ।
फरक प्रसंगमा झाले रास्वपालाई कतिपयले ‘मिडिया ट्रायल’को पर्याय भनेकोमा आपत्ती नभएको बताए । हिजो नेतृ तोसिमा कार्कीले आफूविरुद्ध पार्टीले मिडिया ट्रायल गरेको बताएकी थिइन् । त्यसअघि घण्टीघरका साहु भरतमणि देवकोटाले भवन खाली गर्न पठाएको सूचना मिडियामा सार्वजनिक गरेर ट्रायल गरेको बताएका थिए । त्यस्तै पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले त मिडिया ट्रायलयकै कारण पार्टी परित्याग गरेको बताइसकेकी छन् । उक्त पृष्ठभूमिमा प्रवक्ता झालाई ‘आखिर किन र कसले गरिरहेको छ पार्टी मिडिया ट्रायल’ भनेर सोधिएकोको थियो । त्यसमा उनले संक्षेपमा जवाफ दिए, ‘कुनै पनि व्यक्तिलाई मनमा लागेको कुरा राख्न पाउँछ, त्यसलाई मिडिया ट्रायल भनिएको मात्र हो, साथीहरुले आफ्नो कुरा राख्नुभएको हो ।’
झाले नख्खु कारागारबाट लामिछाने हात हल्लाउँदै कारगारबाट निस्कनुको पृष्ठभूमि सुनाए पनि सार्वजनिक भएको पत्र फेक प्रमाणित भइसकेको छ । कारागार प्रशासन कुनै पत्र नदिएको स्पष्ट पारे पनि रास्वपापंक्तिले गृह मन्त्रालयको सचिवस्तरीय निर्णयपछि लामिछाने निस्किएको दावी गरिरहेका छन् । जबकी, उक्त दिन त्यस्तो कुनै निर्णय नभएको तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले पनि स्पष्ट पारिसकेका छन् ।
टिप्पणीहरू