केपी ओलीका मुख्य सल्लाहकार आज पूरै मौन

केपी ओलीका मुख्य सल्लाहकार आज पूरै मौन

एमालेको आज सम्पन्न केन्द्रीय सचिवालय बैठक पहिलेभन्दा निकै फरक थियो । अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुस्थित भाडाको निवासमा डाकिएको बैठकमा अध्यक्षको आसन र बसाईले पुरानै शैली देखाए पनि सहभागीहरुको धारणा बिल्कुल फरक रह्यो । 

सहभागी अधिकांश पदाधिकारीले बदलिँदो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै एमाले पुनर्गठन गरेर जानुको विकल्प नभएको विचार राखे । ओली स्वयमको रवाफ भदौ २३ गतेको भन्दा केही फरक पाइयो । तत्काल जिम्मेवारीबाट हट्ने लक्षण पाइएन भने यसबीचको घटनामा आफ्नो तर्फका कमी कमजोरी स्वीकार्ने त कामै भएन ।

‘कि उनले छाड्नुपर्यो,कि मंसिरमा महाधिवेशन गरेर अघि बढ्नुपर्यो ।’ 

‘पार्टी भित्रभित्रै मक्किइसक्यो,’ एक जना पदाधिकारीले भने, ‘सँधै अध्यक्षको पक्षमा वकालत गर्ने मुख्य सल्लाहकार विष्णु रिमाल एक शब्द नबोली जिन्दगीमै सायद पहिलोपटक मौन बसे । ओलीको हठको शिकार हुँदै घर डढ्ने आक्रमणको शिकार भएका पृथ्वीसुब्बा गुरुङ र रघुवीर महासेठले पनि नयाँ ढंगबाट अघि बढ्नुपर्ने धारणा राखे ।’ अब महाधिवेशन छिटो हुने सम्भावना छ । आगामी १७ र १८ गतेको सचिवालय बैठकले त्यसबारे टुंगो लगाउने छ । असोजको अन्तिममा केन्द्रीय समिति बैठक बोलाइँदैछ ।

पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल,लेखराज भट्टसहित आजको बैठकमा सहभागी सदस्यहरुले शब्द जे जस्तो चयन गरे पनि अधिकांशको निचोड थियो, ‘विचार, कार्यशैली र नेतृत्व पुनर्गठन गरेर जानुपर्छ ।’ प्रदीप ज्ञवालीले प्रष्ट रुपमा अध्यक्षको पक्षमा धारणा राखे पनि अध्यक्षका खास मान्छे भनेर चिनिने अरु मौन देखिए । उनीहरुको रणनीति महाधिवेशनभन्दा अगाडि अध्यक्षले नेतृत्व नछाडे हुन्थ्यो भन्ने नै छ । एक जना पदाधिकारीको निश्कर्ष छ, ‘कि उनले छाड्नुपर्यो,कि मंसिरमा महाधिवेशन गरेर अघि बढ्नुपर्यो ।’

आगामी फागुन २१ गते हुनसक्ने चुनाव ओलीको नेतृत्वमा मा लडिए अब पार्टी  सखाप हुने अधिकांशको बुझाई छ । आज बोल्नेहरुको मुड हेर्दा ओलीसङ्ग अन्तिम समयसम्म बढीमा चार जना  मात्रै टिक्ने अवस्था बन्दै गएको देखिन्छ । 

ती विष्णु रिमाल,शंकर पोखरेल,प्रदीप ज्ञवाली र गुरु बराल मात्रै हुन् । ओलीले आज भनेका थिए-सुरक्षाकर्मी टिकेनन्,तिमले थेगेनन् ।

बैठक चल्दाचल्दै ओलीको राहदानी रोक्का र उपत्यका कट्न नपाउने छानबिन आयोगको सिफारिससम्बन्धी खबर आएपछि धेरैले कडिकडाउ कुरा नराखी छिटो निस्केर हिंडेको अवस्था थियो ।

टिप्पणीहरू