काठमाडौँमा राति हिँडडुल नगर्न सूचना
जिल्ला प्रशासन कार्यालय काठमाडौँले रातको समयमा लामो यात्रा नगर्न सर्वसाधारण सबैलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म काठमाडौं लगायतका जिल्लामा भारी वर्षा हुने र त्यसबाट बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू हुनसक्ने सम्भावना देखाएकाले सिडिओ कार्यालयले सतर्क गराएको हो ।
प्रशासनले जारी गरेको सूचनामा अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा रातको समयमा काठमाडौँबाट छोड्ने र प्रवेश गर्ने कार्य नगर्न सुझाव दिइएको छ । आ-आफ्नो स्थानमा रही सतर्कता अपनाउन आग्रह गरेको छ ।
'असोज १७ देखि २० गतेसम्म आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउनु हुन, अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्नुहुन, काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ', सूचनामा उल्लेख छ ।

टिप्पणीहरू