केन्द्रीय कारागारबाट भागेका कैदी खोटाङमा

केन्द्रीय कारागारबाट भागेका कैदी खोटाङमा

जेनजी आन्दोलनको नाममा मच्याईएको विध्वंसका क्रममा जेलबाट भागेका एक कैदी समातिएका छन् । खोटाङको केपिलाशगढी गाउँपालिका- ४ स्याक्सिलाका २९ वर्षीय दिलकुमार विकलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले हिजो नियन्त्रणमा लिएको हो । 

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद भुक्तान गरिरहेका उनी भदौ २४ गतेदेखि फरार थिए । हिजो पक्राउ परेका विकलाई आज खोटाङ कारागार बुझाउने तयारी भएको जिल्ला प्रहरीले जनाएको छ ।

भदौ २४ गतेको विध्वंशकारी आन्दोलनको मौका छोपेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सयौँ कैदीहरु देशका विभिन्न कारागारबाट निस्किएका थिए । त्यहाँबाट निस्किएका कैदीहरुले सोही रात केन्द्रीय कारागारमा आगो लगाएका थिए । 

रवि नख्खुबाट निस्किएपछि देशभरका कारागारबाट झण्डै १५ हजार कैदी भागेका थिए । त्यसमध्ये करिब ३ हजार कैदीबन्दी पुनः पक्राउ परिसकेको प्रहरीले जनाएको छ । 

प्रहरीले भागेका कैदीहरुलाई तत्काल कारागार फर्किनका लागि सूचना जारी गर्नुका साथै खोजी कार्य जारी राखेको छ ।

टिप्पणीहरू