आफैं मन्त्री घोषणा

आफैं मन्त्री घोषणा

जेनजी प्रदर्शन र विध्वंशपछि गठित सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलले तीन हप्तासम्म पनि पूर्णता पाउन सकेको छैन । ११ सदस्यीय मन्त्रिमण्डल बनाउने भनिएको छ तर हालसम्म सात मन्त्री मात्र फेला परेका छन् । परराष्ट्र र रक्षाजस्ता संवेदनशील मन्त्रालय स्वयम् प्रधानमन्त्रीको हातमा छ ।

यस्तो अवस्थामा मन्त्री बन्न आकांक्षीहरू तीन सातादेखि ‘मिडिया ट्रायल’ मा लागेको लाग्यै छन् । जेन जी प्रदर्शनसँगै चर्चामा आएका तराई मूलका एक पात्रले आफू दिल्लीको आशिर्वाद लिएर अएको हुँदा परराष्ट्रमन्त्री बन्ने पक्का भएको ठोकुवा गरेका छन् । तर,नियुक्तिको कुनै सुरसार देखिँदैन ।

हालैको एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘आफ्नो नाम परराष्ट्रमन्त्रीका लागि सिफारिस भइसकेको’ ठोकुवा गरेका थिए । त्यसैका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार दीपक बोरासँग दिल्लीमा भेटेर आएको भन्दै धमला क्लबमा प्रायोजित अन्तर्वार्ता दिन भ्याए । योसँगै जेनजी आन्दोलनमा भारतीय ‘फ्याक्टर’ बारे पनि प्रश्न उठ्न थालेको छ । त्यसोभए यसअघि नियुक्त अन्य मन्त्री पनि भारतीय दूतावासको चाहनामै भएका हुन् त ? त्यसपछिको मुख्य प्रश्न यो देखिएको छ ।

महिला अधिकारकर्मी मोहना अन्सारीले केही साताअघि आफूलाई मन्त्री बन्न सुझाव आइरहेको भन्दै शुभेच्छुकलाई धन्यवाद दिएकी थिइन् । तर सामाजिक सञ्जालमा लेखेर तत्काल सरकारमा सहभागी नहुने स्पष्ट पारे पनि यसलाई भविष्यमा वातावरण सिर्जना गर्ने रणनीतिको रुपमा समेत टिप्पणी गरिएको छ । स्रोत भन्छ, ‘अन्सारीलाई मन्त्री बनाउन खोज्नेहरूमा सीमित महिला अधिकारकर्मी मात्र देखिन्छन् । ती पनि खुुलेर बाहिर आएका छैनन्, सामाजिक सञ्जालमा मात्र सीमित छन् ।’

यसबीच, कलाकार तथा पाइलट विजय लामासमेत मन्त्री बन्ने चर्चा चलेको थियो । त्यसमा आन्तरिक गृहकार्य भएको खबर बाहिरिए पनि धेरै शुभेच्छुकले जहाज चलाउनु र मन्त्रालय चलाउनु फरक कुरा भएको भन्दै लामालाई कमाएको इज्जत नफाल्न आग्रह गरेका थिए । लामा स्वयमले आफू पर्यटनमन्त्री बन्ने सम्भावना रहेको संकेत गरेका थिए ।

मन्त्रिमण्डल विस्तारमा ढिलो हुँदा यसरी आत्मप्रचार गर्ने प्रवृत्तिले नयाँ सरकारको आन्तरिक द्वन्द्व र वाह्य दबाबलाई अझै सतहमा ल्याएको देखिन्छ ।

टिप्पणीहरू