पुराना नेतालाई हटाएर पार्टी पुनर्गठन गर्न युवाहरूको आह्वान

पुराना नेतालाई हटाएर पार्टी पुनर्गठन गर्न युवाहरूको आह्वान फाइल फाेटाे

प्रमुख राजनीतिक दलका युवा नेताहरूले आ-आफ्नो पार्टी पुर्नगठनका लागि ठोस कदम चाल्न आह्वान गरेका छन् । 

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न पार्टीका २८ जना युवा नेताले आज संयुक्त आह्वान जारी गर्दै राजनीतिक दलप्रति जनताको विश्वास जगाउने वातावरण सिर्जना गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । 

पार्टी र सत्ता कब्जा गरेपछि जे पनि गर्न सकिन्छ भन्ने सोचका राजनीतिक सम्भ्रान्तहरूलाई जेन-जी प्रदर्शनले घुँडा टेकाएको बताउँदै उनीहरुले मुलुकलाई थप दुर्घटना बचाउन अपील गरेका छन् । जेन-जीको सन्देश मुताविक पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । 

‘राजनीतिक दलका मुख्य नेताहरूले अझै पनि जेन-जीको सन्देश नसुनेझैँ गरिरहेका छन्, विभिन्न बाहना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन्’, आह्वान पत्रमा भनिएको छ, ‘यो आन्दोलनको सन्देशलाई नसुन्नु र नबुझ्नु झन् घातक हुनेछ, मुख्य नेताहरुको बाहनाबाजीले मुलुकलाई थप दुर्घटनातर्फ धकेल्नेछ ।’

राजनीतिप्रति जनतामा घृणाभाव जगाइरहेका शीर्ष नेतालाई बिदा नगरी पार्टी पुर्नगठन हुन नसक्ने युवा नेताहरूको निष्कर्ष छ ।

‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुनै सक्दैन’, भनिएको छ, ‘त्यसैले, आ-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रोरतेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’

टिप्पणीहरू