भारतीय राजदूतको उ बेलाको दिग्दारी यतिखेर सान्दर्भिक
जेन–जी आन्दोलन ‘हाइज्याक’ गरेर केही स्वःघोषित अभियन्तामार्फत् विदेशी शक्ति केन्द्रको चासोमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको चर्चाको विश्लेषण अनेक कोणबाट गरिएको छ । धरानका मेयर हर्क साम्पाङले उ बेलै भनिसकेका थिए, ‘मलाई मन्त्री बन्ने भए भारतीय दूतावास जा भने, म किन जाने ? जाँदिन ।’
स्वास्थ्यमन्त्री बन्ने दाउमा रहेको भनिएका डा. निकोलस भुसालले समेत त्यस्तै भनेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) हरूको समूहले जेन–जीको नाममा विदेशी एजेण्डा बोकेको दाबी गर्दै आएका उनले केही दिनअघि एउटा पोडकास्टमा भने, ‘मन्त्री बन्ने भए भारतीय दूतावास गएर आउनुस् भनियो, तर म गइनँ ।’
साम्पाङ र भुसालको अभिव्यक्तिलाई कतिपयले मन्त्री बन्न नपाएपछिको आक्रोश ठानेका छन् । तर, नेपालमा वैदेशिक शक्ति केन्द्रको खुला हस्तक्षेप हुने गरेको ‘ओपन सेक्रेट तथ्य’ हो । यस पटकको सत्तापलटमा खासगरी पश्चिमा शक्ति राष्ट्रको प्रत्यक्ष चासो रहेको विषय एकपछि अर्को सन्दर्भमा बाहिर आइरहेको छ ।
यसबीच निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेलको एउटा पुरानो अभिव्यक्तिलाई पुनः चर्चामा ल्याइएको छ । सात वर्षअघि उनले एक मिडियालाई दिएको अन्तर्वार्तामा व्यक्त धारणालाई अहिलेको सन्दर्भसँग जोडेर चर्चा गरिएको हो । पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतको हवाला दिँदै प्रधानमन्त्री, मन्त्री बनाउन दूतावासको हस्तक्षेप रहँदै आएको दाबी गरेका थिए ।
अहिले पनि सामाजिक सञ्जालमा भेटिने उक्त अन्तर्वार्ताको भिडियो क्लिपमा तत्कालीन भारतीय राजदूतले नै नेपालका नेताहरुलाई ‘यो के भएको हो ?’ भनेर दिग्दारी पोखेको सन्दर्भ उल्लेख छ । पोखरेलले भनेका छन्, ‘त्यतिबेलाका भारतीय राजदूतसँग धेरै कुराकानी हुन्थ्यो, उनी हाम्रो नेताहरुको व्यवहार देखेर अचम्म हुन्थे, दिक्क पनि मान्थे ।’
नेपालका प्रधानमन्त्रीभन्दा भारतीय राजदूतको शक्ति ठूलो देखिएको अनुभव पनि उनले अन्तर्वार्ताका क्रममा सुनाएका छन् । ती राजदूतको भनाई उद्धृत गर्दै भनेका छन्, ‘अरे पोखरेल साब, तपाईंका नेताहरुलाई के भएको ? जो पनि आउँछन्, बिलौना लिएर आउँछन् । कोही प्रधानमन्त्री बनाइदिनुपर्यो भन्छन्, कोही मन्त्री बनाइदिनुपर्यो भन्छन्, हामीले मात्र कति बनाउन सक्छौं ?’
पोखरेलले नेताहरु भारतीय दूतावासमा पुगेर दुःखेसो र चाहना पोख्ने गरेको पनि दावी गरेका छन् । ‘मैले राम्ररी देखेँको कतिसम्म गिडगिडाए, कसले के वाचा गरेर दूतावासबाट फर्किएका छन्, त्यतिबेला राम्ररी देख्ने अवसर पाएँ । बाहिर ठूल्ठूला कुरा गर्नेहरुको हैसियत दूतावास पुगेपछि देखिँदोरहेछ’, उनले थपेका छन् ।
टिप्पणीहरू