सबैलाई संयमित रहन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा पछिल्ला राजनीतिक गतिविधि र संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगले शान्ति सुरक्षा सुदृढ गर्न तथा सामाजिक सद्भाव कायम राख्न राज्यका निकायहरू र आम नागरिक दुवैको भूमिका जिम्मेवार र संयमित हुनुपर्ने जनाएको छ ।
हाल विभिन्न समूह, दल र व्यक्तिबाट आएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै हिंसात्मक गतिविधि, नकारात्मक टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र विधिको शासन कमजोर बन्ने चेतावनी दिएको छ।
‘विकसित परिस्थितिमा शान्ति सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ।
साथै, आयोगले राजनीतिक प्रतिस्पर्धालाई स्वच्छ र जनमतमा आधारित बनाउन, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र संक्रमणकालीन अवस्थाबाट जिम्मेवार ढङ्गले निकास दिन सबै सरोकारवालालाई आह्वान गरेको छ।
आयोगले विभिन्न समूहले गर्ने भनिएका आगामी प्रदर्शनलाई मर्यादित र संयमित राख्न, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न र राजनीतिक प्रक्रियाबाट निकास खोज्न समेत सुझाव दिएको छ।
टिप्पणीहरू